धनगढी: सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्ड, संगै जोडिएको ग्यालरी र पेटी बिरामीले भरिएपछि नेपाली सेनाले प्राङ्गणमै टेन्ट लगाएको छ । अस्थायी रुपमा आकस्मिक कक्ष सञ्चालन गर्न नेपाली सेनाले प्राङ्गणमा चार वटा टेन्ट लगाएको प्रादेशिक अस्पतालले जनाएको छ । अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार आकस्मिक कक्ष कोरोना भाइरसका शंकास्पद बिरामीले भरिएपछि उपचारमा समस्या हुँदै आएको थियो ।
‘आकस्मिक कक्षमा शय्या खाली नभएपछि ग्यालरी र प्राङ्गणमा राखेर पनि उपचार गर्दै आएका थियौँ,’ उनले भने, ‘बिरामीको उपचारमा केही सहज होस भन्नका लागि सेनाले टेन्ट लगाएको हो । त्यहाँ कोरोना पुष्टि नभएका बिरामीको उपचार हुनेछ ।’ कोरोना पुष्टि भएपछि नजिकै रहेको कोभिड–१९ अस्पतालमा बिरामीलाई सार्ने गरिएको छ । आकस्मिक वार्डमा अहिले अधिकासं कोरोनाको लक्षण भएका र रिपोर्ट पर्खिरहेका बिरामीको उपचार हुँदै आएको छ ।
