धनगढी: आफ्नो प्रजनन् स्वास्थ्यका बारेमा गुपचुप रहने कैलालीका किशोरीहरु विस्तारै खुल्न थालेका छन् । विद्यालयमा शिक्षकले प्रजनन् स्वास्थ्यका कुरा गर्दा लजाउने किशोरीहरु आफ्नो प्रजनन् स्वास्थ्य प्रति चिन्तित बन्ने गरेका छन् । आफ्नो प्रजनन् स्वास्थ्यको समस्या लियर अस्पतालमा जाने गरेका हुन् ।
विभिन्न संघ संस्था तथा सरकारले अस्पतालमा प्रजनन् स्वास्थ्यका बारेमा जानकारी दिने गरेका छन् । ‘पछिल्ला दिनमा किशोर–किशोरी निर्धक्क यौनका विषयमा छलफल गर्छन्’, धनगढीको ओम आशा हस्पिटलमा कार्यरत रेनु चौधरीले भनिन् । ‘किशोर–किशोरी मैत्री छुट्टै कक्षको स्थापना गरी परामर्श दिन थालेपछि विद्यालय उमेरका किशोर–किशोरी खुलेर यौन एवम् किशोरावस्थामा शरीरमा हुने परिवर्तनका विषयमा कुरा गर्न थालेका छन् ।’ रेनुले किशोरीहरु आफै समस्या लिएर अस्पताल पुग्ने गरेको बताईन् । फिल्डमा समेत किशोरीहरुलाई काउल्सिङ हुने गरेको जानकारी दिइन् ।
यस अस्पतालमा गेरुवा ग्रामिण जागरण संघ गेरुवाले काम गदैँ आएका छ । यस कार्यक्रममा पीएसआई नेपालको आर्थिक सहयोग रहेको छ । हस्पिटलमा किशोर–किशोरीलाई परामर्श दिन अलग्गै कोठाको व्यवस्था गरिएको छ । उनीहरु आफै आएर स्वास्थ्य समस्या र किशोरावस्थामा आउने परिवर्तनका बारेमा जानकारी लिन थालेका छन् ।
उनीहरुका लागि हस्पिटलमा किशोर–किशोरी कक्षा चलाउने गरेको छ । समाजमा कम उमेरमा विवाह गर्ने, कम जन्मान्तर, असुरक्षित यौन सम्पर्क राख्ने, लागुपदार्थ दुव्र्यसन लगायत समस्या कायम छन् । त्यस्ता समस्या कम गर्न कैलाली र कञ्चनपुरमा किशोर–किशोरीलाई परामर्श दिन थालेको स्वास्थ्य गेरुवाका कार्यक्रम व्यवस्थापक यदु केसीले जानकारी दिए । ‘सरकारी अस्पतालमा किशोर–किशोरी निशुल्क प्रजनन् सेवा सुरुवात गरिएको थिए । निजीमा भने पहिलो पटक गरिएको हो’, उनले भने ।
शुक्रबार मात्रै किशोर–किशोरी ओम आशा हस्पिटललाई सुचिकृत गरिएको हो । एक बर्ष देखि किशोरी–किशोरी मैत्री सेवा दिन थालेको हस्पिटलले सबै मापदण्ड पूरा गरेपछि किशोर–किशोरीमैत्री स्वास्थ्यचौकीको आधिकारिता पाएको हो ।
राष्ट्रिय किशोर–किशोरी यौन तथा प्रजनन् स्वास्थ्य कार्यक्रमले निर्दिष्ट गरेको गुणस्तर अभिवृद्धि तथा प्रमाणीकरण निर्देशिका २०७२ अनुसार न्यूनतम मापदण्ड ८० प्रतिशत पुरा गरेपछि हस्पिटललाई किशोर–किशोर मैत्रीमा सूचीकृत गरिएको परिवार कल्याण महाशाखा टेकुका निर्देशक डाक्टर तारानाथ पोखरेलले बताए । यस अघि सरकारीमा मात्र दिने यस प्रकारका सेवा अव निजी अस्पतालमा पनि सुरु गरेको उनले बताए । निर्देशक पोखरेलले विभागले प्रजनन् स्वाथ्यलाई उच्च प्राथमिकता दिएर काम गरीरहेको बताए । ओम आशा हस्पिटललाई सुचिकृत गर्नका लागि विभागबाट टोलि धनगढी पुगेको हो ।
स्वास्थ्य संस्थामा किशोर–किशोरीले निर्धक्क समस्या राख्ने वातावरण बनाएको ओम आशा हस्पिटलका अध्यक्ष भुपेन्द्र चौधरीले बताए । हस्पिटलमा किशोर–किशोरी मैत्री छुट्टै कक्षको स्थापना गरी परामर्श दिन थालेपछि विद्यालय उमेरका किशोर–किशोरी खुलेर यौन एवम् किशोरावस्थामा शरीरमा हुने परिवर्तनका विषयमा कुरा गर्न थालेको उनले बताए । उनीहरु यौन, प्रजनन् तथा स्वास्थ्य शिक्षा र परिवार नियोजनका बारेमा विस्तारै सचेत हुन थालेका पनि छन् । एक बर्षमा दुई हजार पाँच सयले सेवा लिएका छन् । गेरुवाले कैलाली र कञ्चनपुरका ८ वटा अस्पतालमा किशोर–किशोरी मैत्री कार्यक्रम सञ्चालन गरिरहेको छ ।