धनगढी, १ बैशाख/ सुदूरपश्चिममा कोरोना भाइरस विरुद्ध कोभिशिल्ड खोपको पहिलो डोज९मात्रा० लगाएका सबैले अब छिट्टै दोस्रो मात्रा लगाउन पाउने भएका छन्।पहिलो खोप लगाएको २८ दिनपछि दोस्रो खोप लागाउने मापदण्ड भएपनि केहि ढिलो गरी माघ र फागुनमा खोप लगाएमा लक्षित समूहलाई बैशाख ७ देखि ११ गतेसम्म खोप लगाउने तयारी रहेको स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख लालबहादुर धामीले बताए।
सुदूरपश्चिम प्रदेशमा गत माघ १४ गतेदेखि २४ गतेसम्म कोभिड १९ विरुद्ध पहिलो कोभिसिल्ड खोप प्रदेशका १४ हजार ८ सय ८५ जना स्वास्थ्यकर्मीहरुलाई दिइएको थियो।त्यसपछि फागुन २ गतेदेखि १० गतेसम्म सेना, प्रहरी, कर्मचारी, पत्रकार र जनप्रतिनिधि गरी २३ हजार ४ सय १७ जनालाई खोप दिइएको जनाइएको छ।
तेस्रो पटक गत फागुन २३ गतेदेखि चैत १५ गतेसम्म ५५ वर्षमाथिका प्रदेशका १ लाख ६४ हजार ५ सय ६ जनालाई खोप दिइसकिएको छ।सुदूरपश्चिम प्रदेशमा पहिलो खोप लगाउनेको संख्या २ लाख २ हजार ८ सय ८ भएपनि पहिलो चरणको दोस्रो खोप भने बैशाखमा सबैलाई दिन नसकिने जनाइएको छ।यो पटक दोस्रो खोप पाउनेमा स्वास्थ्यकर्मी, निजामति सेवाका कर्मचारी, प्रहरी, सेना, जनप्रतिनिधि र पत्रकारलाई समावेश गरिएको प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका निमित्त प्रमुख पदम विष्टले बताए।
प्रदेश स्वास्थ्य अधिकारीहरुले पहिलो खोप लगाएका ५५ वर्षमाथिको लक्षित समुहलाई भने जेठमा दोस्रो खोप दिने तयारी रहेको बताएको छ। तर तेस्रो चरणको खोप लगाउने बारे भने कुनै तयारी नभएको जनाइएको छ।१८ वर्षमाथिका सबै नागरिकले कहिलेसम्म खोप पाउछन् भन्ने थाहा पाउन केहि समय कुर्नुपर्ने सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्की बताउँछन्। कोरोना भाइरसको दोस्रो लहरको संक्रमण फैलिइरहेको बेला सरकारले भने सिमित संख्यामा भएपनि दोस्रो खोप दिने तयारी गरेको छ।तर कोरोनाको नयाँ प्रकारको संक्रमण रोक्न अहिले लगाइने कोभिसिल्ड खोप शत प्रतिशत प्रभावकारी नहुने हुँदा सबैलाई स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न आग्रह गरिएको छ।