धनगढी : बझाङमा भाइरल ज्वरोको संक्रमण बढेसँगै जिल्लाका स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढदै गएको छ। सुरुवातमा विद्यार्थीहरूमा देखिएको भाइरल ज्वरो अहिले समुदायस्तरमा पनि देखिन थालेको छ।
एक महिनाअघि बझाङको साइपाल गाउँपालिका–४ मा रहेको धुली माध्यमिक विद्यालय धुली र धलौन माध्यामिक विद्यालयका विद्यार्थी र शिक्षक एकाएक बिरामी पर्न थालेपछि एक हप्ताका लागि विद्यालय बन्द गरिएको थियो। अहिले बित्थडचिर गाउँपालिका वडा नं ५ मा रहेको भूमिराज आधारभूत विद्यालयका विद्यार्थीहरूमा भाइरल ज्वरो देखा परेको छ।
विद्यालयमा भाइरल ज्वरो फैलिएपछि पाँच दिनका लागि विद्यालय बन्द गरिएको छ। विद्यालयमा मंगलबारदेखि एक दुई जनामा देखिएको ज्वरो बिहीबारसम्म सबै विद्यार्थीमा देखा परेको विद्यालयका शिक्षक रघुवीर महरले बताए।
उनले भने, विद्यार्थीमा ज्वरो आउने, टाउको दुख्ने, बेहोस हुने, चिच्याउने, खान मन नलाग्ने जस्ता समस्या देखिएका छन्। विद्यालयमा ३५ जनालाई एकैदिन यो लक्षण देखिएपछि विद्यालयले गाउँपालिकाको शिक्षा शाखालाई जानकारी गराएर विद्यालय बन्द गराएका हौँ।ु एक हप्ताअघि गाउँपालिकाकै सुनकुँडा माध्यमिक विद्यालयमा पनि विद्यार्थीहरूमा पनि भाईरल ज्वरोको लक्षण देखा परेको थियो।
विद्यार्थीहरूमा पनि भाइरल ज्वरोको संक्रमण तीव्र रूपमा फैलिएपछि विद्यालय बन्द गर्नुपर्ने अवस्था आएको वित्थडचिर गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक हरि अवस्थीले बताए।
मौसममा आएको परिवर्तनसँगै विद्यार्थीमात्र नभएर गाउँपालिकाको समुदायस्तरमा पनि ज्वरोका बिरामी बढेका छन्। उनले भने, ुविद्यालयमा मात्र नभई ज्वरो समुदायस्तरमा पनि फैलिँदै गएको छ। विदेशबाट घर फर्कने क्रम बढेकाले कोभिडको संक्रमण हो कि भन्ने शंकाले हामीले कोभिड परीक्षण पनि गरेका थियौँ, उनले भने, परीक्षण गरेका सबैमा कोभिड नेगेटिभ आएको छ।
एउटै टोलमा १० जनाभन्दा बढीमा समस्या देखिएकाले समुदायस्तरमा त्रास फैलिएको उनको भनाइ छ। अहिले जिल्ला अस्पतालमा बढी जसो भाइरल ज्वरोसँगै, मौसमी रुघाखोकी र झाडापखालाका बिरामी आउने गरेकोे जिल्ला अस्पताल बझाङका डा मिलन खड्काले बताए।