घनगढी : पछिल्लो ६ महिनामा कैलालीको धनगढी उपमहानगरपालिकामा झण्डै दुई सय जना नयाँ क्षयरोगका विरामी भेटिएका छन् । धनगढी उपमहानगरपालिकाले आयोजना गरेको एक कार्यक्रममा उपमहानगरपालिकामा झण्डै दुई सय जना नयाँ क्षयरोगका विरामी भेटिएको जनाएको हो ।
कोरोना महामारीका कारण परिक्षणको दायरा धेरै मानिसहरु आउँन नसकेको र समाजमा बहिस्करणमा परिने धेरै मानिसहरुले परिक्षण नगर्ने भएकाले यसको संख्यामा अझै बढी हुन् सक्ने उपमहानगरपालिकाका स्वास्थ्य शाखामा कार्यरत योगेश अवस्थीले जानकारी दिए । चालु आर्थिक बर्षको हालसम्म नगरभित्र १ सय ८८ जनालाई क्षय रोग देखिएको उनले बताए ।
जसमध्ये सवै भन्दा बढी नगरपालिकाको वडा नम्वर ११ मा क्षय रोगलाग्नेको संख्यामा धेरै रहेको उनले जानकारी दिए । छिमेकी देश भारत संगको खुल्ला सिमाना भएका ठाउँमा उक्त रोगबाट प्रभावित हुनेको संख्या बढी रहेको पाईएको अवस्थीले बताए । पछिल्लो समयमा क्षय रोगका विरामी कम देखिनु रोगको परिक्षण गर्नेको संख्यामा कमी आउँनु रहेको हुन्सक्ने उनको भनाई छ । यस्तै खकार जाँच गरेर मात्रै क्षय रोगको पक्ता नलाग्ने र यसका बाहेक एक्सरेनै गर्नुपर्ने उनले जानकारी दिए ।
धनगढी उपमहानगरपालिकाले हाल ११ ठाउँबाट क्षय रोगको परिक्षण गरीरहेको सोही कार्यक्रममा अवस्थीले जानकारी दिएका छन् । विगतका दिनहरुमा बृद्धबृद्धालाई मात्रै यो रोग लाग्ने गरेको भन्ने गरिएको भएपनि पछिल्लो समयमा १५ बर्ष देखि २४ बर्षका उमेर समुहका किशोर किशोरी तथा युवा युवति हरुमा पनि बढीमात्रामा देखिन थालेको पाईएको छ ।
यो रोगको समयमै परिक्षण तथा उपचारको दायरामा आउँन सके मानिस बच्न सक्ने भएपनि मानिसहरुले समयमै उपचार तथा परिक्षण नगर्दा उपचारमा कठीनाई हुँने गरेको उपमहानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख खगेन्द्र वमले जानकारी दिए । यो रोगबाट प्रभावित हुनेको संख्यामा कमि आएको भएपनि यो निराकरण गर्न चुनौतिको बिषय रहेको उनले बताए । मानिसहरुले खानपान लगाएतका अन्य कुराहरुमा ध्यान दिन जरुरी रहेको उनको सुझाव छ ।
कैलाली जिल्लाभर ६ महिनामा झण्डै पाँच सय नयाँ क्षयरोगीका विरामी फेला
कैलाली जिल्लामा पछिल्लो समयमा परिक्षणको दायरामा नआउँदा क्षयरोगका विरामीको संख्यामा कमि आएको छ । पछिल्लो चार बर्षको वर्षको तथ्यांकलाई हेर्ने हो भने नयाँ क्षयरोगीका विरामी भेटीने क्रममा कमि आएको हो । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले कैलालीमा चालु आवको ६ महिनामा चार सय ६३ नयाँ क्षयरोगीका विरामी फेला परेको बताएका छन् ।
जिल्लामा वार्षिक दुई हजार पाँच सय बढी क्षयरोगीका नयाँ विरामी पहिचान गर्नुपर्ने भएपनि यस बर्ष उक्त संख्यामा मात्रै बिरामी थपिएको उनले बताए । समाजमा चेतना अभाव , नीजि अस्पतालमा पत्ता लागेका विरामीहरूको तथ्याङ्क उपलब्ध नहुँनु जस्ता कारणले लक्ष्य अनुसारको नयाँ विरामी पहिचान गर्न नसकिएको धामीको भनाई छ ।
स्वास्थ्य कार्यालय कैलालीका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा एक हजार ४१ नयाँ क्षयरोगका विरामी पहिचान गरिएको थियो भने आर्थिक वर्ष २०७६÷७७ मा घटेर नौ सय ४७ नयाँ विरामी फेला परेका थिए । कैलालीमा क्षयरोगका कारण चालु आर्थिक वर्षको छ महिनामा १४ जनाको मृत्यु भइसकेको छ । कार्यालय प्रमुख धामीले क्षयरोगका कारण पाँच जना पुरुष र नौ महिला गरी १४ जनाको मृत्यु भएको जानकारी दिए ।
यस्तै देशभरमा क्षयरोगका कारण मृत्यु हुनेको दर दुई प्रतिशत रहेपनि सुदूरपश्चिम प्रदेशमा चार देखि पाँच प्रतिशत रहेको छ । समयमै क्षयरोगका पहिचान गरी उपचार गर्न सकेमा मृत्युदर घटाउन सकिन भएपनि यस्तो हुँन नसक्दा मृत्युदर घट्न सकेको छैन् ।