धनगढी : छिमेकी मुलुक भारतका विभिन्न राज्यमा कोरोना संक्रमणदर तीव्र रूपमा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय डडेल्धुराले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
एक सूचना प्रकाशित गरेर प्रशासनले कोरोना भाइरसको जोखिम बढेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो।
फागु पूर्णिमा होलीमा भीडभाड नगर्न र कोभिड–१९ को संक्रमण बढ्न नदिन सेनिटाइजर, मास्क र सामाजिक दूरी कायम गरी स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरिएको डडेल्धुराका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालले जानकारी दिएका छन्।
उनले मास्क नलगाउनेहरूलाई संक्रमण रोग ऐन बमोजिम कारबाही गरिने बताएका छन्। कोभिड–१९को संक्रमण भारतमा बढीरहेकाले खुला सीमानाकाका कारण नेपालमा पनि जोखिम बढेकाले सरकारले चैत ८ गते प्रेस विज्ञप्तिमार्फत सजग र सतर्क रही स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गरेको थियो।