धनगढीः दार्चुलामा स्थायी बन्ध्याकरण गर्नेलाई अण्डा र कम्बल वितरण गरिएको छ । नौगाड गाउँपालिकाले परिवार नियोजन अन्र्तगत स्थायी बन्ध्याकरण गर्नेलाई अण्डा र कम्बल वितरण गरेको हो ।
स्वास्थ्य कार्यालय दार्चुलाको आयोजना तथा मेरी स्टोप्स सुनौलो परिवार नेपाल र नौगाड गाउँपालिकाको सहयोग र समन्वयमा सञ्चालन भएको स्थायी बन्ध्याकरण शिविरमा सहभागी भई सेवा लिएका व्यक्तिलाई गाउँपालिकाले अण्डा र कम्बल वितरण गरेको गाउँपालिका उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष गौरी देवी ठगुन्नाले जानकारी दिइन् ।
सेवा लिने सवैलाई ३० गोटा अण्डा र एक÷एक थान कम्बल प्रोत्साहन स्वरुप उपलब्ध गराएको उपाध्यक्ष एवं कार्यवाहक अध्यक्ष ठगुन्नाले बताइन् सोमवार सम्पन्न भएको स्थायी बन्ध्याकरणमा १९ जनाले सेवा लिएको नौगाड गाउँपालिकाले जनाएको छ ।
स्थायी बन्ध्याकरणमा ७ जना महिलाले मिनिल्याप र १२ जना पुरुषले भ्यासेक्टोमी सेवा लिएको नौगाड स्वास्थ्य शाखाले जनाएको छ । स्थायी बन्ध्याकरण सेवा लिने १९ जनालाई उपाध्यक्ष गौरी देवी ठगुन्नाले अण्डा र कम्बल हस्तान्तरण गरिएकोे छ ।