बैतडी : भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाकामा आजदेखि कोरोना परीक्षण शुरू गरिएको छ। छिमेकी देश भारतमा कोरोनाको दोस्रो लहर फैलिएपछि भारतसँग जोडिएका सीमा नाकामा उच्च सतर्कता अपनाइएको हो।
झुलाघाट नाकाबाट स्वदेश फर्कने नागरिकको नाकामै कोरोना परीक्षण शुरू गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए।
ुभारतमा कोरोना संक्रमण बढ्दै गएकोले कोरोना परीक्षण शुरू गरेका हौं, सीमा नाकाबाट स्वदेश फर्कने नागरिकको एन्टिजेन विधिबाट कोरोना परीक्षण शुरू गरेका छौं,’ उनले भने, ‘स्वाब संकलन गरेर तत्कालै परीक्षणको भइरहेको छ, पोजेटिभ देखिएकालाई आइसोलेट गरेर राखिनेछ।’
झुलाघाटमा यसअघि नै हेल्थ डेस्क स्थापना गरिसकिएको छ। झुलाघाटमा गत माघ २५ गते डेस्क स्थापना गरिएको थियो। उक्त हेल्थडेस्कमार्फत हाल कोरोना परीक्षण व्यवस्था गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।
हेल्थ डेस्कमा कोरोना परीक्षणका लागि एकजना प्रयोगशालाकर्मी खटाइएको छ। जिल्लामा एन्टिजेन विधिबाट कोरोना परीक्षणका लागि ५ सय कीट जिल्ला पुगिसकेको छ।
यसअघि पनि सो हेल्थ डेस्कमा एकजना हेल्थ असिस्टेन्ट, एकजना अनमी र एकजना कार्यालय सहयोगी खटाइएको थियो। कोरोनाका कारण गत वर्षको चैत महिनादेखि बन्द रहेको झुलाघाट नाका गएको माघमा खुलेको थियो।
बैतडीमा हालसम्म ६ सय ४२ जनामा पुष्टि हुँदा २ जनाको मृत्यु भइसकेको छ। जिल्लामा हालसम्म १६ हजार बढीलाई कोरोना भाइरसविरुद्धको खोप ९पहिलो डोज० दिइएको छ।
