काठमाडौं, २ चैत/नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीचको बर्ता सकिएको छ ।
सर्वोच्च अदालतले नेकपाको एकता खारेज गरी एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि पहिलो पटक दुई पक्षबीच आज पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भेटवार्ता भएको हो । छलफलमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, बिष्णु पौडेल र प्रदीप ज्ञवाली सहभागी थिए । यस्तै, अर्को पक्षबाट नेता नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण बिष्ट सहभागी थिए ।
दुई पक्षबीच भएको भेटवार्तामा के-के कुरा भयो भन्नेबारे भने खुलेको छैन ।
एमालेको आन्तरिक विवाद चर्किएको बेला छलफल भएको हो । गत शुक्रबार प्रधानमन्त्री ओलीले एकलौटी ढंगले पदाधिकारी खारेज, केन्द्रीय कमिटी पुनर्गठन र नेताहरुको जिम्मेवारी हेरफेर गरेपछि रुष्ट बनेको नेपाल पक्षले ओलीको निर्णयलाई चुनौती दिँदै समानान्तर कमिटी गठन गरेको थियो । नेपाल पक्षले हिजो मात्र ओलीले एकलौटी रुपमा गरेको निर्णयलाई वैधता नदिन माग गर्दै निर्वाचन आयोगमा पत्र बुझाएको थियो ।
