धनगढी, फाल्गुन ४/ केही महिना अगाडिसम्म कोरोना सङ्क्रमितले खचाखच भरिएको धनगढीस्थित सेती अस्पतालको कोरोना अस्थायी अस्पताल रित्तिएको छ ।
नयाँ सङ्क्रमण दर घटेपछि अस्पताल खाली भएको हो । कोरोना भाइरसले महामारीको रुप लिएको बेला प्रदेश सरकारको लगानीमा ५० शैयाको अस्थायी अस्पताल निर्माण गरिएको थियो ।
पछिल्लो समय कोरोना सङ्क्रमण र परीक्षण दर घटेसंगै अस्पताल खाली भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए । ‘केहि दिन अगाडि अस्पतालमा बिरामीको सङ्ख्या निल भएको थियो । अहिले दुई जना बिरामी उपचाररत छन्’, उनले भने ।
अस्पतालमा बिरामीको सङ्ख्या घटेपछि अस्पताल परिसर सुनसान बनेको छ । सोमबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा ४७ वटा नमूना परीक्षण भएको छ । जसमध्ये एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए । ‘आजकल परीक्षण नै भइरहेको छैन’, उनले भने ।
कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु भएपछि मान्छेमा पहिलेको जस्तो कोरोनाको त्रास छैन । सङ्क्रमण दर घट्दै जाँदा जनजीवन पनि सामान्य हुँदै गएको छ । मान्छेहरु निर्बाध रुपमा आ–आफ्नो कामकाजमा व्यवस्त भइरहेका छन् ।