काठमाडौं, माघ, ८। कृषि ऋणमा सहज पहुँच पुर्याउन पहिलोपटक ‘किसान क्रेडिट कार्ड’ जारी गरिएको छ । कृषि विकास बैंकले आफ्नो ५४औं वार्षिकोत्सवको अवसरमा बुधवार काठमाडौंका १५ जना किसानलाई ‘किसान क्रेडिट कार्ड’ वितरण गर्दै यसको शुरुआत गरेको हो । कार्डसँगै कृषिबारे सम्पूर्ण जानकारी दिने ‘किसान एप’लाई समेत अर्थमन्त्री विष्णु पौडेलले औपचारिक उद्घाटन गरे । उद्घाटनको क्रममा उनले यो प्रविधिले किसानलाई प्रविधिमैत्री बनाउन सहयोग पुग्ने बताए ।
राजधानीमा कृषि फर्म सञ्चालन गरिरहेका १५ जना ग्राहकबाट किसान क्रेडिट कार्ड वितरण गरेको कृषि विकास बैंकका सचिव तथा प्रवक्ता हेमलाल पौडेलले बताए । उनका अनुसार बैंकले पाइलट फेजको रूपमा काठमाडौंबाट शुरुआत गरेको र यसको प्रभावकारिता हेरेर पोखरा, विराटनगरलगायत क्षेत्रमा क्रमशः विस्तार गर्दै लगिनेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० अनिलकुमार उपाध्याय किसानलाई प्रविधिमैत्री डिजिटल कारोबारमा आबद्ध गर्न किसान क्रेडिट कार्ड एवं सूचनामूलक एप जारी गरेको बताए ।
यस्तो कार्ड उपयोग गर्न चाहने सबै किसानले यो सुविधा लिन पाउँछन् । तर, बैंकबाट कर्जा लिएका ऋणी किसानका लागि भने बढी सहज देखिन्छ । बैंकले सबै किसानलाई कार्ड जारी गर्ने भए तापनि धितो वा विनाधितोमा कृषि कर्जा स्वीकृत भएका ऋणीलाई यो कार्ड सजिलो पर्न जाने देखिन्छ ।
बैंकले ब्याज अनुदानमा कृषि तथा पशुपक्षी व्यवसायका लागि जारी गरिएको सहुलियतपूर्ण कर्जामा मात्र विनाधितो कर्जा प्रवाह गरेको छ । बैंकबाट कर्जा लिएका ऋणीले स्वीकृत भएको कर्जाबाट रू।१ लाख रकमसम्म कार्डका लागि छुट्ट्याएर प्रयोग गर्न सकिने प्रवक्ता पौडेलले बताए ।
‘बैंकको ऋणीबाहेकका किसानले यो कार्ड लिन खातामा रकम जम्मा गर्नुपर्छ,’ उनले अभियानसँग भने, ‘बैंकको पुरानो ऋणी नभए पनि यो कार्ड लिए नगद बोकेर किनमेल गर्न जानु पर्दैन । कृषि विकास बैंककको बीउबिजन, मल, दूध डेरीलगायत मर्चेन्टहरूसँग सहकार्य हुने भएकाले किसानले सम्बद्ध मर्चेन्टमा गएर उक्त कार्डमार्फत कारोबार गर्न सक्छन् ।’
क्रेडिट कार्ड लिन कृषि विकास बैंकको कार्यालयमा गएर फारम भर्नुपर्छ । शुरूमा बैंकको कर्मचारीहरूले यो कार्ड प्रयोग गर्न सिकाउने प्रवक्ता पौडेलले बताए ।
कार्डधारकले क्रेडिट कार्डबाट तोकिएको रकम बराबरको मल, बीउबिजन खरीद गर्न सक्नेछन् । यससँगै, किसानले तरकारीलगायत उत्पादनको बजार मूल्य, मौसम, बीउबिजनको मूल्यलगायतबारे जानकारी गर्ने एप्स प्रयोग गर्न सक्नेछन् । उनका अनुसार कार्डसँगै किसानलाई एप चलाउनसमेत कर्मचारीले सिकाउनेछन् ।
बैंकले यस्तो कार्ड लिनेलाई माघ महीनाभरि सबै सेवा शुल्क छूट गरेको छ । माघपछि भने शुल्क लिइनेछ तर शुल्क निर्धारण भने भइनसकेको प्रवक्ता पौडेलको भनाइ छ । कृषि मन्त्रालयले किसान परिचयपत्र जारी गरेपछि त्यसलाई लिंक गराएर कृषिसम्बन्धी राष्ट्रिय सूचनाहरूको पहुँच दिने गरी काम गर्ने समेत बैंकले लक्ष्य राखेको उनको भनाइ छ ।
आर्थिक वर्ष २०७७र७८ को बजेटले किसानलाई सहुलियत ब्याजदरमा क्रेडिट कार्डमार्फत ऋण उपलब्ध गराएर कृषिमा सहजीकरण गर्न यो कार्यक्रमलाई प्राथमिकता दिएको छ । चालू आर्थिक वर्षको मौद्रिक नीतिले किसान क्रेडिट कार्ड जारी गर्ने अधिकार कृषि विकास बैंकलाई दिएको थियो । बैंकले पहिलो चरणमा रू। ६ अर्बको कृषि बन्ड र यस वर्ष कुल २४ अर्बको बन्ड निष्कासन गर्न २६ वाणिज्य बैंक र १ पूर्वाधार विकास बैंकसमक्ष दरखास्त आह्वान गरेको छ । वार्षिकोत्सवमा अर्थमन्त्री पौडेलले उक्त बन्डको समेत शुभारम्भ गरेका थिए । ‘यस कार्यले देशको कृषिसँग सम्बद्ध उत्पादनबाट आयात प्रतिस्थापन गर्न सघाउने र स्वरोजगार तथा आर्थिक गतिविधि बढाउने र कृषि कारोबार वृद्धिको साथै अन्य कारोबारको विद्युतीय भुक्तानी प्रणालीसमेत बलियो र भरपर्दो हुने विश्वासमा छौं,’ सीईओ उपाध्यायले भने ।
