काठमाडौं- प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी कमजोर बन्दै गएको सुरक्षा संयन्त्रले निष्कर्ष निकालेको छ । सरकारले प्रतिबन्धको निर्णय गरेसँगै खुलेआम रुपमा आफ्ना गतिविधि बढाउन नसक्दा विप्लव समूह कमजोर बनेको सुरक्षा संयन्त्रको निष्कर्ष छ ।
प्रतिबन्धपछि मात्रै विप्लव समूहका ७ सयभन्दा बढी नेता–कार्यकर्ता पक्राउ परिसकेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा ३० भन्दा बढी त जिल्ला इञ्जार्ज तथा सेक्रेटरी तहका छन् ।
औपचारिक रुपमा घोषणा नगरे पनि राज्यविरुद्ध हिंसात्मक रुप अपनाएको विप्लव समूहले पछिल्लो समय आफ्ना सूचना चुहिन थालेको र पार्टीको रणनीति पनि गोप्य नरहेको निष्कर्ष निकाल्दै पोलिटव्युरो र केन्द्रीय समिति भंग गरेको थियो । मुलुकका केही भागमा भएका विस्फोटको जिम्मा विप्लव समूहले लिएको भएपनि अधिकांश विस्फोटको जिम्मा लिएको छैन ।
विप्लव समूहविरुद्ध नेपाल प्रहरी र सशस्त्र प्रहरीले संयुक्त रुपमा ‘सर्च एन्ड अरेस्ट’ अपरेसन चलाउँदै आएका छन् । गोप्य रुपमा आफ्ना बैठक र प्रशिक्षण गर्दै आएको विप्लव समूहले आत्मरक्षा, सन्तुलन र आक्रमणको नीति लिएको नेताहरु बताउँछन् ।
‘आतंक मच्चाउन सक्छन्, आक्रमण गर्न सक्दैनन्’
चन्दा आतंक तीव्र पारेको विप्लव समूहले पछिल्लो समय शक्ति सञ्चय गर्ने र त्यसका लागि वार्तालाई उपयोग गर्ने योजना बनाएको थियो । जसका लागि जेलमा रहेका आफ्ना सबै नेता–कार्यकर्ता छोड्नुपर्ने, प्रतिबन्ध फुकुवा हुनुपर्ने, राजनीतिक व्यवहार गर्नुपर्ने अनौपचारिक प्रस्ताव नेताहरुले सरकारी प्रतिनिधिसँग राखेका थिए । तर विप्लव समूहले वार्तालाई आफ्नो हितमा मात्रै प्रयोग नगर्ने प्रतिवद्धता नआएसम्म सार्थक संवाद हुन नसक्ने सरकारी पक्षको अडानपछि वार्ता अनिश्चित बनेको छ ।
विप्लव समूहभित्र नै वार्ताको माग बढ्दै जान थालेपछि विप्लव स्वयंले स्थायी र पोलिटव्युरो भंग गर्दै १५ जना केन्द्रीय सदस्यको घटुवा समेत गरेका थिए । सुरक्षा संयन्त्रले विप्लवसँग राज्यलाई आतंकित पार्नका लागि हतियार र बम लगायतका सामग्री भएको बताउँदै आएको छ । एक उच्च प्रहरी अधिकारीले भने, ‘‘चौकी नै हान्ने सामर्थ्य त उनीहरुको छैन । तर राज्यलाई आतंकित पार्ने शक्ति भने देखिन्छ । देशभर उनीहरुको नेटवर्क छ ।’’
प्रहरीले विप्लव समूहमाथिको कारवाही तीव्र पारेपछि धेरैजसो नेता–कार्यकर्ताको सहज भेट हुने अवस्था छैन । एक उच्च प्रहरी अधिकारीले भने, ‘‘पक्राउ परेका नेताहरुको डायरी हेर्दा चन्दा संकलन व्यापक नै देखिन्छ । तर त्यो रकम कार्यकर्तासम्म पुगेको देखिँदैन । त्यसैले कार्यकर्तामा व्यापक निरासा देखिन्छ ।’’ विप्लव समूहका सबैजसो नेता–कार्यकर्ता प्रहरीको निगरानीमा छन् । देशभर विप्लव समूहकै गतिविधिको निगरानी गर्नका लागि प्रहरीभित्र छुट्टै टिम खडा गरिएको छ ।
‘‘उनीहरुको छटपटी देखिन्छ । प्रायजसो नेताहरु आफ्नो मोबाइल प्रयोग गर्दैनन, अरु कसैको नामको प्रयोग गर्छन् । सूचना प्रविधि पहिले जनयुद्धकालीन अवस्थाजस्तो छैन । सबै सेल्टरबारे सुरक्षा संयन्त्र राम्रोसँग जानकार छ,” उच्च प्रहरी अधिकारीले भने ।’’ तर विप्लव समूहले केही लडाकु दस्ता भने तयार पारेको सुरक्षा निकायको दाबी छ । जसमा पूर्वलडाकु बढी छन् । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले स्वयं विप्लव समूहले तीन कम्पनी जनसेना निर्माण गरेको खुलासा गरेका थिए ।
निसानामा स्थानीय तह र सरकारी गाडी
पछिल्लो समय विप्लव समूहले स्थानीय निकाय र सरकारी सवारी साधनलाई निसाना बनाउन थालेको छ । स्थानीय निकायका प्रतिनिधिसँग तोकेरै चन्दासमेत माग्न थालेको पाइएको छ । प्रदेश नम्बर पाँच, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका स्थानीय तहसँग विप्लव समूहले तोकेरै चन्दा मागेको पाइएको छ ।
यसअघि नै विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले विज्ञप्ति जारी गर्दै असारदेखि कात्तिकसम्म आर्थिक अभियान सुरु गरिएको बताएका थिए । पहाडी जिल्लामा सुरक्षाकर्मीको उपस्थिति सहज हुँदैन । जसकारण विप्लव समूहले चन्दा आतंक बढाएको बताइन्छ । मध्यपश्चिम कमाण्डले एक विज्ञप्ति जारी गर्दै मध्यपश्चिम क्षेत्रमा सरकारी नम्बर प्लेटका गाडीहरु चल्न रोक लगाउने घोषणा यसअघि नै गरिसकेको छ ।
