धनगढी, ११ पुस/ नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ। दाहालको निवास खुमलटारमा दुई नेताबीच भेटवार्ता भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष दाहालबीच आन्तरिक विवादका कारण सत्तारूढ नेकपा विभाजित भइसकेको छ। विभाजनले औपचारिकता भने पाइसकेको छैन।
विभाजन क्रममा साविक पार्टीका उपाध्यक्ष गौतम अहिलेसम्म कुनै पक्षमा खुलेका छैनन्। पार्टी एकताका पक्षमा रहेको भन्दै उनले दुवै पक्षको बैठकमा नजाने घोषणा गरेका थिए।
अध्यक्ष दाहालसँगको सामान्य भेटवार्ता भएको छ, तर उहाँले कता लाग्ने भन्नेबारेमा अझै टुंगो दिन सक्नुभएको छैन, स्रोतले भन्यो।
अध्यक्ष दाहालले गृहमन्त्री रामबहादुर थापा बादललाई आफ्नो पक्षमा ल्याउन नसकेपनि उपाध्यक्ष गौतम आफ्नो पक्षमा आउन सकारात्मक रहेको बताउँदै आइरहेका छन्।
यता प्रधानमन्त्री ओलीले पनि उपाध्यक्ष गौतमलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेका छन्।