बैतडी,२८ भदौ / सुदूरपश्चिमको ऐतिहासिक एवं सांस्कृतिक पर्व गौराको चहलपहल अझै रहे पनि यसको रैथाने मौलिकतामा भने बिस्तारै ह्रास आउन थालेको छ । विशेषगरी गौरा पर्वका अवसरमा महिलाहरूले लगाउने परम्परागत पोशाक र मौलिक गहना अचेल देखिन छाडेका छन् ।
शिव–पार्वतीको भक्ति र आराधना गरी मनाइने यो चाडमा विगतमा महिलाहरू परम्परागत पहिरनमा सजिएर गौराखलोमा डेउडा खेल्ने गर्थे । तर, पछिल्लो समय आधुनिकता र बजारिया फेसनको प्रभावका कारण नयाँ पुस्ताले पुराना गहना र पोशाकप्रति चासो देखाउन छाडेका छन् ।
गौरा पर्व मनाउन धनगढीबाट आफ्नो मूल घर बैतडीको डिलासैनी पुग्नुभएका केशव भट्टका अनुसार नयाँ पुस्ताले आधुनिक शृङ्गार मन पराउन थालेपछि परम्परागत पोशाक र गहना लगाउने चलन हराउँदै गएको छ ।
विशेषगरी महिलाहरूले हातमा लगाउने चाँदीको बाला, निधारमा सजाउने चाँदीको कण्डश्री, गलामा पहिरिने मुगा र चवन्नी माला, खुट्टामा लगाइने चाँदीको पैडा, नाकको नथ र कानको मुदडीजस्ता ऐतिहासिक महत्त्व बोकेका गहनाहरू हिजोआज बिरलै देख्न पाइन्छ ।
परम्परागत पोशाक र गहना मात्रै होइन, गौरा पर्वमा खेलिने ठाडो खेल, धुमारी, ढुक्सो, चौघान र क्रिपीजस्ता मौलिक डेउडा खेल पनि लोप हुन लागेको स्थानीय ८५ वर्षीय ज्येष्ठ नागरिक वीरबहादुर चन्दले चिन्ता व्यक्त गरे।
विद्यालयहरूले आयोजना गर्ने सांस्कृतिक कार्यक्रमहरूमा मौलिक पोशाकको अनिवार्य प्रयोग गर्न सके मात्रै पनि यस ऐतिहासिक सम्पदाको संरक्षण गर्न र नयाँ पुस्तालाई बुझाउन सकिने चन्दले बताए ।
स्थानीय बूढापाकाहरूका अनुसार मौलिक संस्कृति, पोशाक, खेल र गहना संरक्षणमा स्थानीय सरकार तथा सरोकारवाला निकायले समयमै ठोस कदम नचाल्ने हो भने भविष्यमा सुदूरपश्चिमको यो ऐतिहासिक पहिचान केवल इतिहासमा मात्र सीमित हुने खतरा बढेको बताएका छन् ।