धनगढी,२८ भदौ / कैलालीका तीन स्थानीय तहमा जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । जेईको संक्रमणदर बढ्दै गएपछि असोज १ गतेदेखि अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य कार्यालय कैलालीका खोप फोकल पर्सन सुर्य बिष्टका अनुसार धनगढी उपमहानगरपालिका, लम्कीचुहा नगरपालिका र घोडाघोडी नगरपालिकामा अभियान सञ्चालन हुनेछ । अभियानअन्तर्गत ३० वर्ष वा सोभन्दा माथिका व्यक्तिलाई जेईविरुद्धको खोप लगाइनेछ ।
स्वास्थ्य कार्यालयका अनुसार धनगढीमा १ लाख २ हजार ४९९, घोडाघोडीमा ३९ हजार ५९ र लम्कीचुहामा ४० हजार ७५५ गरी १ लाख ८२ हजार ३१३ जनालाई खोप लगाउने लक्ष्य राखिएको छ ।
अभियानका लागि १ लाख ९१ हजार ४२९ डोज खोप आउने क्रममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । स्थानीय तह र स्वास्थ्य संस्थामार्फत खोप लगाउने गरी आवश्यक तयारी भइरहेको कार्यालयले जनाएको छ । सन् २०२६ को सुरुवातयता घोडाघोडीमा जेई संक्रमणका कारण दुई जनाको मृत्यु भइसकेको छ भने धनगढी र लम्कीचुहामा तीन तीन जना संक्रमित रहेको प्रमुख बिष्टले बताए ।
जापानिज इन्सेफ्लाइटिस (जेई) लामखुट्टेको टोकाइबाट सर्ने भाइरल रोग हो । यसले मुख्यतः मस्तिष्कमा असर गर्ने भएकाले संक्रमण गम्भीर हुन सक्ने स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले बताए । यो जनावर र लामखुट्टेबीचको रोग हो, संक्रमित लामखुट्टेले टोकेपछि भाइरस शरीरमा प्रवेश गर्छ र मस्तिष्कमा गम्भीर समस्या ल्याउन सक्ने कुँवरको भनाई छ ।
उनका अनुसार जेई मानिसबाट मानिसमा नर्सेन र संक्रमित सबैमा लक्षण नदेखिने हुन्छ । लक्षण देखिएमा उच्च ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी लाग्ने, शरीर कमजोर हुने, कम्पन हुने तथा घाँटीमा असहजता हुनेजस्ता समस्या देखिन सक्छ यसबाट बच्न लामखुट्टे नियन्त्रण र सरसफाइमा विशेष ध्यान दिनुपर्ने कुँवरले बताए ।
घरका झ्यालढोकामा जाली लगाउने, घरवरिपरि पानी जम्न नदिने र पूरा बाहुला भएका कपडा लगाउन सुझाव दिएका छन् ।
सुँगुर, बंगुर, हाँस, कुखुरा तथा अन्य चराचुरुङ्गी र लामखुट्टेबीचको संक्रमण चक्रसँग जेई सम्बन्धित हुने भएकाले यस्ता पशुपन्छी बस्ती तथा घरबाट केही टाढा व्यवस्थित रूपमा पाल्नुपर्ने भनाई रहेको छ । जेईको शंका लागेमा नियन्त्रण तथा व्यवस्थापनको काम स्थानीय तहले गर्ने र संक्रमण भए–नभएको यकिन गर्न प्रदेश जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिने जानकारी दिइएको छ ।