बैतडी २४असोज । बैतडीको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्द विरुद्ध जिल्ला अदालत बैतडीमा मुद्दा दायर भएको छ । नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका मन्त्री रमेशसिंह भण्डारीले अध्यक्ष चन्द विरुद्ध अदालतमा गाली बेइज्जती मुद्दा दर्ता गरेका हुन् ।
गाउँपालिकाबाट विभिन्न सूचना माग गर्दा अध्यक्ष चन्दले फेसबुक मार्फत गाली बेइज्जती गरेको भन्दै भण्डारीले अदालतमा मुद्दा दर्ता गराएका हुन् । अध्यक्ष चन्द विरुद्ध अदालतमा मुद्दा दर्ता भएको जिल्ला अदालत बैतडीका श्रेष्तेदार जनकसिंह बोहराले पुष्टि गरे । अध्यक्ष चन्द विरुद्ध मुद्दा दर्ता भएको र अदालत म्याद बुझाउने काम बाँकी रहेको उनले बताए ।
अध्यक्ष चन्दलाई म्याद बुझाउनका लागि अदालतले कर्मचारी खटाउने र म्याद बुझेको ३६ दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने श्रेष्तेदार बोहराले जानकारी दिए ।
शुरुमा अदालतमा उपस्थित हुने २१ दिन म्याद हुने र थप १५ दिन गरेर ३६ दिनभित्र अदालतमा उपस्थित हुनुपर्ने कानुनी व्यवस्था रहेको उनकोे भनाइ छ ।
यस विषयमा नेपाल रेडक्रस सोसाइटी शाखा बैतडीका मन्त्री एवं नेपाली कांग्रेसका जिल्ला कार्यसमिति सदस्य रमेशसिंह भण्डारीले अध्यक्ष चन्दले गाली बेइज्जती गरेर आफ्नो मार्यादा ठेस पुर्याएकोले अदालतमा दायर गरेको मुद्दामा उल्लेख गरेका छन् ।
यसअघि गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले रेडक्रसका मन्त्री भण्डारीले पदको दुरुपयोग गरी भ्रष्टाचार गरेको भन्दै जिल्ला प्रशासनमा कारबाहीका लागि निवेदन दिएका थिए।