धनगढी , २६ असोज / आफ्नै घरमा डेरा गरी बस्ने १६ वर्षीया किशोरीमाथि जबरजस्तीकरणी गरेको आरोपमा धनगढीका एक जना पुर्पक्षका लागि कारागार चलान भएका छन्।
धनगढी उपमहानगरपालिका–५, तारानगरका तिलक चौधरीलाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो। न्यायाधीश भरतकुमार दहालको इजलासले शुक्रबार उक्त आदेश दिएको हो।
अदालतको आदेशअनुसार, किशोरी केही महिनादेखि चौधरीको घरमा कोठा भाडामा लिएर बस्दै आएकी थिइन्। चौधरीले प्रेमको नाटक गरी घटनाबारे कसैलाई नभन्न डर, त्रास र धम्की दिएको आरोप छ।
अदालतमा बयान दिने क्रममा चौधरीले किशोरी आफ्नो घरमा डेरा गरी बस्ने गरेको र उनीसँग फोन तथा ह्वाट्सएपमार्फत कुराकानी हुने गरेको बताएका छन्। उनले आफूहरूबीच प्रेम सम्बन्ध रहेको र आपसी सहमतिमा शारीरिक सम्पर्क भएको जिकिर गरेका छन्।
चौधरीविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ अन्तर्गतको कसुरमा अभियोगपत्र दायर गरिएको थियो। अदालतले तत्काल प्राप्त प्रमाणका आधारमा उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।
मुद्दाको अन्तिम फैसला हुन बाँकी रहेकाले चौधरीमाथिको आरोप अदालतबाट प्रमाणित भइसकेको छैन।