धनगढी, १८ भदौ/ धनगढी उपमहानगरपालिका भित्रको तारानगर क्षेत्र कोरोना भाइरस संक्रमणको हटस्पट बन्ने खतरा बढेको छ। धनगढीमा सबैभन्दा बढी तारानगर क्षेत्रका स्थानियमा संक्रमण फैलिदै गएको छ ।
बिहीबारसम्म तारानगरका २२ जना भन्दाबढी स्थानियमा कोरोना संक्रमण पुष्टि भएको छ। बुधबार मात्रै तारानगरकै ८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । नेपालमै पहिलोपटक चैत १४ गते उपमहानगरपालिका–५ तारानगरमा स्थानियमा संक्रमण देखीएको थियो ।
धनगढीमा बुधवार सम्म दुई सय ५८ जनामा संक्रमण पुष्टि भएको छ। उपमहानगरपालिका जनस्वास्थ्य शाखा प्रमुख लक्ष्मीराज उपाध्यायका अनुसार धनगढीका सबै वडा मध्ये वडा नम्बर ५ को तारानगर क्षेत्रमा स्थानियमा संक्रमण बढी फैलिएको छ । वडा नम्बर ५ मा हालसम्म १८ महिला र १८ पुरुष गरी ३६ जनामा संक्रमण पुष्टि भएको छ ।
