काठमाडौं। सरकारले लकडाउन अन्त्य घोषणा गरेसँगै यतिखेर होटल व्यवसायीहरुले पूर्वतयारी सुरु गरिसकेका छन्।
विगत चार महिनादेखि बन्द रहेका विभिन्न स्तरका होटल यतिखेर स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्दै संचालन तयारीमा लागेको व्यवसायीले बताएका छन्। तर पर्यटक आवागमन सुरू नभइ होटल संचालनमा ल्याउन गाह्रो रहेको व्यवसायीको ठहर छ। त्यसैले उनीहरू सडक र हवाई यातायात सहज भएर पर्यटक आउने दिनको प्रतीक्षामा छन्।
सरकारले साउन १५ गतेदेखि होटल व्यवसाय संचालनमा ल्याउन दिने निर्णय गरेको छ। उक्त निर्णयपछि यतिबेला साना एक तारेदेखि तीन तारेसम्मका होटलहरू खोल्ने गृहकार्यमा व्यवसायी लागेका छन्। पर्यटक आवागमन सुरू नभइ पाँचतारे स्तरका होटल भने खुला गर्नेरनगर्नेमा व्यवसायीपिच्छे मत फरक छन्। सरकारले हवाई उडान थाल्न भदौ १ को मिति तोकेको छ। अझैसम्म लामो दुरीको सडक यातायात चल्न थालेको छैन।
लकडाउन लगत्तै आधाभन्दा बढी कामदार(कर्मचारीलाई बिदा दिएका होटलहरूले काममा बोलाउने क्रम सुरू भएको छ। सेवा संचालनमा ल्याउन सरसफाइ र संक्रमणबाट जोगिन सुरक्षा निर्देशिकाको पालनाबारे सिकाउन सुरू गरिएको छ।
पाँचतारे होटल हायातले सेवा संचालनका लागि पूर्वतयारी सुरु गरिसकेको जनाएको छ। विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कर्मचारीसँगै ग्राहकलाई सेवा दिन सक्ने क्षमताको स्वास्थ्य सुरक्षा अवलम्बनको तयारी भइसकेको कम्पनीका एक कर्मचारीले जानकारी दिए।
सरकारले आउँदो १५ गतेदेखि होटल संचालन खुला गर्ने निर्णय गरे पनि कम्पनीले भने ग्राहकको मागको अवस्था हेरेर मात्रै चलाउने योजना बनाएको ती कर्मचारीले बताए। ुहामी होटल संचालनका लागि पूर्ण रूपमा तयार छौं। कर्मचारी तयार भइसकेका छन्। तर साउन १५ मै होटल खुल्ने अवस्था छैन,ु उनले भने, ुसेप्टेम्बरसम्म होटल पुनः संचालनमा ल्याउने योजना बनाएका छौं। टुरिस्ट मुभमेन्टको आधारमा होटल संचालनमा ल्याउने योजना छ।ु
सरकारले निर्णय गरे पनि साउन १५ बाट संचालनमा ल्याउने अवस्था नरहेको होटल द्वारिकाजले जनाएको छ। होटल संचालनमा ल्याउनका लागि हालसम्म कुनै योजना नबनाएको एक कर्मचारीले बताए। ुहोटल द्वारिकाज अस्थायीरूपमा बन्द छ र पुनःसंचालनका लागि हालसम्म कुनै पनि आन्तरिक निर्णय भएको छैन,ु उनले भने।
सानिमा ग्रुपद्वारा संचालित धुम्बराहीस्थित होटल अकामाले साउन १५ गतेदेखिको अवस्थालाई मध्यनजर गर्दै प्रि(बुकिङ खुला गर्ने योजना रहेको जनाएको छ। सरकारको निर्णयसँगै यतिखेर होटलले विभिन्न विभागका २५ जना जनशक्ति परिचालन गरी स्वास्थ्य सुरक्षा अवलम्बन गर्न सुरु गरिसकेको सानिमा ग्रुपका प्रमुख कार्यकारी अधिकृत विनय श्रेष्ठले जानकारी दिए।
ुहामीले होटल पुनः संचालनका लागि पूर्व तयारी गरिसकेका छौं, तर अहिले नै बुकिङ सुरु गर्ने अवस्थामा छैनौं,ु उनले भने, ुसंक्रमणको कुनै भर छैन। यही कुरालाई मध्यनजर गर्दै साउन १५ देखिको अवस्थालाई मध्यनजर गर्दै बुकिङ खुल्ला गर्ने योजनामा छौं।ु केही दिन अघिदेखि होटलले रेष्टुरेण्टमार्फत ुटेक अवेु सेवा सुरु गरिसकेको उनले बताए।
ठमेलस्थित अलोफ्ट काठमाडौंले मेरियोट इन्टरनेशनलले तयार पारेको स्वास्थ्य सुरक्षा निर्देशिका अनुसार स्वास्थ्य सुरक्षा अवलम्बन सुरु गरिसकेको जनाएको छ। लामो समयदेखि बस्दै आएका ग्राहकलाई सेवा दिँदै आएकाले बन्दाबन्दीमा पनि कारोबार पूर्णरूपमा बन्द नभएको होटलले जनाएको छ।
ुलामो समयदेखि बसोबास गर्दै आएका ग्राहकलाई सेवा दिने क्रममा हामीले लकडाउनमा पनि होटल पूरै बन्द गरेका थिएनौं। अहिले हामीले मेरियोट इन्टरनेशनलले तयार पारेको सेफ्टी प्रोटोकल अवलम्बन गर्न सुरु गरिसकेका छौं,ु होटलका एक कर्मचारीले भने।
होटल व्यवसायीको छाता संगठन होटल संघ नेपालले मुलुकभर रहेका क्षेत्रीय होटलसँग समन्वय सुरु गरिसकेको प्रमुख कार्यकारी अधिकृत टेकेन्द्रबहादुर महतले जानकारी दिए।
ुसरकारले १५ गतेदेखि होटल संचालन गर्ने निर्णय गरेसँगै होटल संघ नेपालले क्षेत्रीय होटल संघसँग समन्वय सुरु गरिसकेको छ। स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै होटल संचालनका लागि गृहकार्य सुरु भइसकेको छ,ु प्रमुख कार्यकारी अधिकृत महतले भने।
अहिलेको अवस्थामा आन्तरिक पर्यटनलाई बढावा दिनेगरी सरकारका तर्फबाट प्रचारप्रसारको आवश्यकता रहेको उनले बताए। ुअहिले सुरुमा प्राय पर्यटक स्तरका होटल सुचारु हुने देखिएको छ। सुरुमा फ्लाइट फ्रिक्वेन्सी कम भएसँगै ग्राहक संख्या पनि कम हुने देखिएको छ। तर संक्रमण सामान्य हुँदै जाँदा क्रमबद्ध रूपमा उडानसँगै ग्राहक संख्या पनि बढ्न सक्ने देखिन्छ,ु उनले भने।
सरकारले प्राथमिकतामा राखेको ुदेश दर्शनु मार्फत आन्तरिक पर्यटन प्रवर्द्धनका लागि संघले विभिन्न आकर्षक प्याकेज सार्वजनिक गर्ने योजना बनाएको होटल संघका वरिष्ठ उपाध्यक्ष विनायक शाहले बताए। व्यवसाय पूर्ववत् संचालनका लागि यतिखेर मुलुकभरका होटलले विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अनुसार ुसेफ्टी प्रोटोकलु प्रयोग गर्न सुरु गरिएको उनले जानकारी दिए।
ुअन्तर्राष्ट्रिय हवाई उडान सुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ुपिसीआर सेन्टरु संचालन गर्न आवश्यक छ,ु उनले भने, ुबाहिरी मुलुकबाट नेपाल भ्रमणमा आउने पर्यटकको आत्मविश्वास बढाउनका लागि विमानस्थलमा पिसीआर सेन्टर चाहिन्छ। करिब आधा घण्टामा कोभिड(१९ जाँचको रिपोर्ट लिन सकिने यो माध्यमबाट नेपाल भ्रमणका लागि आउने पर्यटकको आत्मविश्वास बढ्छ।ु
सरकारको निर्णयसँगै चितवन रहेका होटल व्यवसायीले स्वास्थ्य सुरक्षा अवलम्बन गर्दै सरसफाइ सुरु गरेको क्षेत्रीय होटल संघ चितवनका अध्यक्ष दीपक भट्टराईले बताए। सरकारले होटल संचालन गर्न पाइने मितिबारे निर्णय गरेको भए पनि यतिखेर व्यवसायी दोधारमा रहेको बताउँदै उनले भने, ुहामी सरकारको निर्णयको पालना त गर्छौँ। तर पर्यटक आउने ग्यारेन्टी कमै छ। अब संचालनमा ल्याउन पर्यटक आइहाल्लान भन्ने पनि छैन।ु
बर्खा यामका कारण सडक अवरुद्ध हुँदा यो समय पर्यटक आगमन कम हुने उनले बताए। पहिलो चरणमा संचालन गर्नका लागि होटलहरुले कम जनशक्ति प्रयोग गर्ने योजना रहेको उनले जानकारी दिए।
चार महिनादेखि बन्द भएका कारण मर्मत सम्भार, रङरोगन, स्वास्थ्य सुरक्षा निर्देशिका कार्यन्वयनमा ल्याउन समय लाग्ने भएका कारण साउन १५ गतेदेखि नै होटल सुचारु हुन गाह्रो रहेको पोखरा क्षेत्रीय होटल संघका अध्यक्ष विकल तुलाचनले बताए। ुहोटल संचालनका लागि सरकारले अकस्मात निर्णय गरेको छ। दिइएको प्रोटोकल अनुसार तयार हुनै पर्यो। तत्काल खोल्ने अवस्था छैन। आउँदो अक्टोबरदेखि बुकिङ लिने गरी तयारी गर्नेछौं,ु अध्यक्ष तुलाचनले भने।
राजधानी काठमाडौंसँगै मुलुकका प्रमुख पर्यटकीय गन्तव्यमा होटल(रिसोर्ट र रेस्टुरेन्टमा बर्सेनि लगानी बढेको थियो। चार महिना लामो लकडाउनले व्यवसाय ठप्प हुँदा व्यवसायी आत्तिएका छन्। सडक र हवाई यातायात सहज भएपछि मात्रै पर्यटन व्यवसायले गति लिने भएकाले धेरै व्यवसायी आन्तरिक तयारीमा लागे पनि सहज समय पर्खिरहेका छन्।