बाजुरा,२७ असोज / बडादसैँ सुरु भएसँगै बैतडीका प्रसिद्ध शक्तिपीठ तथा धार्मिक स्थलमा भक्तजनको चहलपहल बढेको छ । घटस्थापनादेखि नै जिल्लाका विभिन्न मन्दिरमा पूजाआराधना गर्ने भक्तजनको घुइँचो लाग्न थालेपछि यहाँको धार्मिक वातावरण थप उल्लासमय बनेको छ ।
बैतडीको दशरथ चन्द नगरपालिका–२ स्थित प्रसिद्ध निङ्लाशैनी भगवती मन्दिर, वडा नं. ५ स्थित त्रिपुरासुन्दरी भगवती मन्दिर, मेलौली नगरपालिकास्थित मेलौली भगवती मन्दिर तथा सुर्नया गाउँपालिका–३ स्थित वासुलिङ मन्दिरलगायतका धार्मिक स्थलमा बिहानैदेखि भक्तजन पुग्ने गरेका छन् । यी मन्दिरमा पूजाआराधना गर्न जिल्लाका विभिन्न स्थानका साथै छिमेकी मुलुक भारतबाट समेत भक्तजन आउने गरेका छन् । बडादसैँको नवरात्र अवधिमा भक्तजनले व्रत बस्ने, एक छाक खाने, पूजापाठ गर्ने तथा देवीदेवताको आराधना गर्ने परम्परा रहेको स्थानीय बासिन्दाले बताएका छन् । आस्था अनुसार मन्दिरमा पूजा गर्ने, नयाँ अन्न चढाउने, नेजा तथा ध्वजा चढाउने र अखण्ड दीप प्रज्वलन गर्नेलगायतका धार्मिक गतिविधि हुने गरेका छन् ।
सुर्नया गाउँपालिका–३ स्थित वासुलिङ मन्दिरमा भने नवरात्र अवधिभर पशुबलि नदिई पूजाआराधना गर्ने परम्परा रहेको मन्दिरका भण्डारे महेशराज भट्टले बताए ।
निङ्लासैनी भगवती मन्दिरमा घटस्थापनादेखि नै पूजापाठ, हवन तथा बलिसहित पूजा हुने गरेको छ । निङ्लाशैनी मन्दिरका मुख्य पुजारी देवदत्त भट्टका अनुसार घटस्थापनादेखि मन्दिरमा नियमित पूजाआराधना र हवन सुरु भएको छ । नवरात्रको सुरुवातसँगै जमरा राख्ने धार्मिक विधि पनि सम्पन्न गरिन्छ । उनका अनुसार बर्खायाममा बन्द रहने बलि दिने परम्परा पनि घटस्थापनादेखि सुरु हुन्छ । घटस्थापनादेखि सप्तमीसम्म बोकाको बलि दिने परम्परा छ । अष्टमीका दिन भने राँगाको बलि दिइन्छ ।
नवरात्रदेखि विजयादशमीसम्म जिल्लाका प्रसिद्ध मन्दिरमा हजारौँ भक्तजनले पूजापाठ गर्ने गरेका स्थानीय गोपाल बोहोराले बताए। धार्मिक आस्थासँग जोडिएका यी मन्दिरमा दसैँका बेला विशेष पूजा तथा परम्परागत धार्मिक गतिविधि सञ्चालन हुने भएकाले स्थानीय क्षेत्रको धार्मिक रौनकसमेत बढ्ने गरेको उनले बताए।