धनगढी, १९ जेठ- कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फुलबारीमा रहेको एउटै क्वारेन्टाईनमा ३० जनामा १२ जना कोरोना पोजेटिभ भेटिएका छन् । फुलबारीमा रहेको पञ्चोदय माविमा राखिएका मध्य १२ जना पोजेटिभ भेटिएको वडा नम्बर १४का वडा अध्यक्ष रामबजारी चौधरीले जानकारी दिए । १२ जना सबैलाई आरडिटी परिक्षणमा कोरोना पोजेटिभ भेटिएको वडा अध्यक्ष चौधरीले पुष्टी गरे ।
पोजेटिभ हुने ७ जना भारतको महाराष्ट्र बाट आएका थिए भने ५ जना भारत को अन्य ठाउँ बाट आएका हुन् । अहिले उक्त क्वारेन्टाइनमा जम्म ६८ जना रहेको शिद्धार्थ टोल विकास समिति अध्यक्ष सत्यराज रोकाया ले बताएका छन । यता अहिले सम्म सुदुरपश्चिम प्रदेशमा ४३ जना संक्रमित पुगेकोमा कैलालीमा २७ जना पुगेका छन् । अधिकांश सुदुरपश्चिमेलीहरु त्रिनगर नाका भएर घर फर्किएकोले यहाँ सवैभन्दा वढी कोरोनाको खतरा रहेको छ ।
धनगढी स्थित प्रयोगशाला मार्फत गरिएको परीक्षणमा आज मात्रै १४ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए । नयाँ संक्रमितहरु मध्ये ११ जना पुरुष र तीन जना महिला रहेका छन् । यो संगै जिल्लामा संक्रमितको सङख्या २७ पुगेको छ । सुदुरपश्चिमकै पहिलो संक्रमितको रुपमा कैलालीमा गत चैत १४ गते पहिलो कोरोना संक्रमित फेला परेका थिए । धनगढी उप–महानगरपालिका वडा नम्वर ५ का ३४ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । उनी युएईको दुबईबाट फर्किएका थिए । त्यसपछि चैत २२ गते धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला र कैलाली लम्कीका २१ बर्षीय युवकमा कोरोना पुष्टि भएको थियो ।
बैशाख १ गते लम्की चुहा नगरपालिका वडा नम्वर १ की ६१ बर्षीय महिलामा पनि कोरोना पुष्टि भएको थियो । जेठ नौँ गते कैलालीको जानकी गाउँपालिकाका तीन जनामा कोरोना पुष्टि भएको थियो । जेठ १३ गते मात्रै कैलालीको जानकी गाउँपालिकाका ३८ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । जेठ १५ गते कैलालीको जानकी गाउँपालिकाका २५ र ३० बर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।
यस्तै आईतबार मात्रै कैलालीको जानकी गाउँपालिका, भजनी नगरपालिका र धनगढी उप–महानगरपालिकाका एक एक जनामा कोरोना पुष्टि भएको थियो । कैलालीमा सुरुवातका ४ जना संक्रमित पनि कोरोना जितेर डिस्चार्ज भईसकेका छन् । यस्तै सोमबार नै अछाम, बैतडी, डोटी र कञ्चनपुरका एक÷एक पुरुषमा पनि पुष्टि भएको छ ।
