बैतडी,२६ असोज / बैतडीमा डिजिटल ठगीका घटना बढ्दै गएका छन् । बैतडी सुर्नया गाउँपालिका–५ का कर्ण मडैले बैङ्कमा राखेको बैङ्क खाताबाट दुई लाख रुपियाँ चोरी भएको बताए।
विदेशमा मेहनत गरेर कमाएको रकम सानोतिनो व्यापारका लागि भनेर बैङ्कमा राखेको रुपियाँ चोरी भएको उनले बताएका छन् ।
त्यस्तै सुर्नया गाउँपालिकाकै वीरबहादुर बोहोराको मोबाइल ह्याक गरेर पाँच लाख रुपियाँ चोरी भएको छ । ग्लोबल आइएमई बैङ्कमा रहेको खाताबाट रकम चोरी भएपछि उनले डडेलधुरा शाखामा पुगेर बैङ्कलाई जानकारी गराउनुका साथै प्रहरीमा निवेदन दिएका छन्।
कैलाली स्थायी घर भई बैतडीमा काम गर्दै आएका अर्जुन चौधरी पनि डिजिटल ठगीमा परेका छन् । रकम चोरी हुनुभन्दा केही समयअघि भिडियो कल गरेर चिट्ठा परेको भन्दै विभिन्न लिङ्क खोल्न लगाइएको र त्यसपछि खाताबाट रकम चोरी भएको उनले बताए।
यसअघि सुर्नया गाउँपालिका–३ का दलबहादुर विष्टको बैङ्क खाताबाट गत जेठ २६ गते तीन लाख रुपियाँ चोरी भएको थियो । नेपाल इन्भेस्टमेन्ट मेगा बैङ्कमा रहेको खाताबाट एक्कासि रकम स्थानान्तरण भएपछि आफू अचम्ममा परेको विष्टले बताए ।
सन्देशमा दिइएको निर्देशन अनुसार पासवर्ड परिवर्तन गरेपछि नबिल बैङ्कमा रहेको खाताबाट तीन लाख रुपियाँ र फोन लोनमार्फत लिएको ५० हजार रुपियाँ गरी तीन लाख ५० हजार रुपियाँ चोरी भएको उgले बताए ।
पछिल्लो समय ह्वाट्सएप, फेसबुक म्यासेन्जरलगायत सामाजिक सञ्जालमा बैङ्क तथा वित्तीय संस्थाको नाम, लोगो वा मिल्दोजुल्दो विवरण प्रयोग गरी सन्देश पठाएर ठगी गर्ने गरिएको पाइएको छ । यस्ता सन्देशमा खाता अद्यावधिक, केवाइसी नवीकरण, सुरक्षा जाँच, पासवर्ड परिवर्तन तथा अनलाइन सामान खरिदको बहाना बनाइने गरेको छ । सन्देशमा दिइएको लिङ्क खोलेपछि पासवर्ड, ओटिपी (एक पटक प्रयोग हुने गोप्य सङ्केत) वा अन्य गोप्य विवरण प्रविष्ट गर्न लगाउने र प्राप्त विवरण प्रयोग गरी बैङ्क खाताबाट अन्य खातामा रकम स्थानान्तरण गर्ने गरिएको प्रहरीको भनाइ छ ।
मोबाइल बैङ्किङ र सामाजिक सञ्जालको प्रयोग गरी हुने डिजिटल ठगीका घटना बैतडीमा बढ्दै गएका छन् । चालु आर्थिक वर्ष २०८३र८४ को सुरुवाती अवधिमै डिजिटल ठगीसम्बन्धी २३ वटा निवेदन प्रहरीमा परेका छन् । ती घटनामा २१ लाख ३८ हजार रुपियाँ ठगी भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । चालु आवमा परेका २३ निवेदनमध्ये तीन वटा फस्र्योट भएका छन् । ती घटनामा ठगी भएकामध्ये ५२ हजार ३५० रुपियाँ पीडितलाई फिर्ता गराइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक दीपककुमार रायले बताए । यसअघि आव २०८२र८३ मा डिजिटल ठगीसम्बन्धी ४१ वटा निवेदन परेका थिए । ती घटनामा १५ लाख ९२ हजार २५६ रुपियाँ चोरी भएको थियो । तीमध्ये ३१ वटा निवेदन फस्र्योट भइसकेको प्रहरी नायब उपरीक्षक रायले जानकारी दिए।