बिश्व कोरोना भाइरस कोभिडको माहामारीबाट त्राहीत्राही भएको बेला डोटीको जोरायल गाउँपालिकाका अध्यक्ष लगायतका जनप्रतिनिधीहरु भोजभतेरमा मस्त भएको भिडियो सार्वजनिक भएको छ ।
सरकारले जारी गरेको लकडाउनको उल्लङ्घन गर्दै गाउँपालिकाको एकान्त मगरबस्ती सिराडमा पुगेर नाचेको भिडियो छ । भिडियो जेठ ९ गते खिचिएको छ । भिडियोमा गाउँपालिका अध्यक्ष दुर्गा ओझा, वडा नं ४ का अध्यक्ष नन्दराजभट्ट , घण्टेश्वर माविका प्रअ सुनलाल थापा लगायत गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरु प्रष्ट देखिन्छन् । यो कार्यक्रम वडा नं ४ का अध्यक्ष नन्दलाल भट्ट आफै डोजर मालिकले निर्माण गरेको सडक सिराडमा पुगेपछि खुसीयालीमा आयोजना गरिएको स्थानीयले बताएका छन् । सिराडमा कार्यक्रमको आयोजना गरिएको दिन भारतबाट आएका गाउँपालिकाका दर्जनौ ब्यक्तिहरु त्रिनगरभन्सार नाकामा भोकभोकै अलपत्र परेका थिए तर उता जोरायल गाउँपालिकाका अध्यक्ष लगायत जनप्रतिनिधीहरुको टोली जाँड खाएर डान्स गरिरहेको थियो ।
उसो त जोरायल गाउँपालिकाका अध्यक्ष र त्यहाँका जनप्रतिनिधीहरु पटक पटक चर्चामा आउने गर्दछन् । आफुले बिराज भट्टको चलचित्रमा अभिनय गर्ने सर्तमा गाउँपालिकाबाट १० लाख फिल्म सुटिङ्गका लागि सहयोग गरेको र अध्यक्षको नग्न फोटो सार्वजनिक भएको पछिको तेश्रो काण्ड हो ।