धनगढी , २३ असोज / सुदूरपश्चिममा पहिलो पटक फरक शैलीको महोत्सव आयोजना गर्ने तयारी गरिएको छ । सामान्यतया महोत्सव भनेपछि मञ्चमा कलाकार हुने, गीत–संगीत र मनोरञ्जनका कार्यक्रम हुने तथा स्टलमा व्यावसायिक प्रयोजनका सामग्री राखिने गरिन्छ । तर, नयाँ अवधारणाका साथ अत्तरियामा कात्तिक १३ देखि १८ गतेसम्म आयोजना गरिने ‘स्वास्थ्य युवा महोत्सव’मा भने मञ्चमा चिकित्सक देखिनेछन् ।
मञ्चमा चिकित्सकले स्वास्थ्यबारे आवश्यक जानकारी तथा परामर्श दिनेछन् भने स्टलमा तिनै चिकित्सकले बिरामीको निःशुल्क चेकजाँच गर्नेछन् । समृद्ध सुदूरपश्चिम अभियान र नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिम प्रदेश, जिल्ला तथा नगर चेम्बर अफ कमर्सको सहकार्यमा आयोजना हुने महोत्सवमा युवा, विद्यार्थी तथा समुदायलाई स्वास्थ्यसँग जोड्न पहिलो पटक सुदूरपश्चिममा यस किसिमको महोत्सव आयोजना गर्न लागिएको नेपाल चेम्बर अफ कमर्स सुदूरपश्चिमका अध्यक्ष विनोद मल्लले बताए ।
‘वर्तमान अवस्थामा युवा, समाज, अस्पताल र डाक्टरको सम्बन्धलाई हामीले गहिरो रूपमा हेर्दा स्वास्थ्य महोत्सवको अति आवश्यक रहेको महसुस गरेर यो आयोजना गर्नुपर्छ जस्तो लाग्यो,’ बिहीबार अत्तरियामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले भने, ‘महोत्सवमा स्वास्थ्यको सम्बन्धलाई लिएर अन्तरक्रिया गरेर एक–अर्कासँग जोडिने अवसरका रूपमा यसलाई लिएका छौँ ।’
उनले स्वास्थ्य महोत्सव स्थलमा अन्तरक्रियाका लागि स्टेज सँग स्वास्थ्यका केही स्टल पनि रहने बताए । उनले महोत्सवमा प्रत्येक दिन चेकजाँचमा १ हजार र अन्तरक्रियामा प्रत्येक दिन ३ हजार सहभागी हुने अपेक्षा लिइएको बताए ।
महोत्सव अत्तरियामा गरिने भनेपनि स्थानकाे भने अझै टुङ्गो नलागेको उनले बताए । उनले महोत्सव स्थल र महोत्सवमा आउने चिकित्सकको नामावली केही दिनमा सार्वजनिक गरिने बताए ।