धनगढी, २३ असोज / सर्वोच्च अदालतको आदेशपछि अन्योलमा परेको सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रक्रिया फेरि अघि बढेको जनाइएको छ। सरकारले चालु आर्थिक वर्ष २०८३/०८४ को बजेट असोज २४ गते प्रदेश सभामा प्रस्तुत गर्ने तयारी गरेको जनाइएको हो।
बजेट प्रस्तुतिका लागि शुक्रबार बिहान ८ बजे प्रदेश सभा बैठक बोलाइएको छ। यसअघि बिहीबार बिहानका लागि निर्धारित बैठक स्थगित गरेर नयाँ मिति तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।
प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीका अनुसार बजेट प्रस्तुत गर्ने प्रयोजनका लागि मात्रै बैठक बोलाइएको हो। उक्त बैठकका लागि बजेट प्रस्तुतिबाहेक अन्य कार्यसूची नरहेको उनले जानकारी दिए।
सुदूरपश्चिम प्रदेश सरकार आर्थिक वर्ष सुरु भएको झन्डै तीन महिनासम्म बजेट ल्याउन नसक्दा आर्थिक तथा विकास गतिविधिमा अन्योल छ।
सरकारले अध्यादेशमार्फत बजेट ल्याउने तयारी गरिरहेको सुदूरपश्चिम प्रदेश सरकारका प्रवक्ता तथा उद्योय, पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावलले जानकारी दिए।
यता प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भने अदालतको आदेशको विषय स्पष्ट नभएसम्म प्रदेश सभा बैठकमा सहभागी नहुने जनाएको छ। निवर्तमान मुख्यमन्त्रीसमेत रहेका कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले बजेटसम्बन्धी विवाद निरूपण नभएसम्म बैठकमा उपस्थित नहुने बताएका छन्।