कसैले कतै लेख्नुभएको थियो-“जसको जति शक्ति, उसको त्यति नै सम्मान।” लेखकको नाम अहिले याद भएन, तर पछिल्लो समयका अन्तर्राष्ट्रिय घटनाक्रम हेर्दा यो भनाइ निकै अर्थपूर्ण लाग्छ।
अहिले चलिरहेको संयुक्त राष्ट्रसंघको महासभाका क्रममा चीनका राष्ट्रपति सी जिनपिङप्रति देखाइएको उच्चस्तरीय स्वागत र सम्मानलाई हेर्दा पनि लाग्छ-अन्तर्राष्ट्रिय सम्बन्धमा आदर्श र सिद्धान्तका कुरा जति गरिए पनि व्यवहारमा राष्ट्रको शक्ति, प्रभाव र हैसियतको ठूलो भूमिका हुँदो रहेछ।
विजयकुमार पाण्डेले भन्ने गर्नुभएको एउटा कुरा सम्झिन्छु- हामी बाँचेको युग ‘वैश्य युग’ हो-कारोबारी युग। यहाँ राजनीति पनि कारोबारी छ, सामाजिक सम्बन्धहरू पनि कारोबारी छन्, अन्तर्राष्ट्रिय कूटनीति पनि कारोबारी छ। सम्बन्ध, मित्रता, सहयोग र प्रतिबद्धता-सबैको मूल्य र प्रतिफल खोजिन्छ। आजको विश्वमा भावनाभन्दा Interest, सम्बन्धभन्दा Transaction, र सिद्धान्तभन्दा Deal बलियो देखिन्छ।
सारमा ……
वास्तवमै आजको अन्तर्राष्ट्रिय राजनीति हेर्दा धेरै कुरा स्वार्थ, शक्ति र आफ्नो हितको वरिपरि घुमेको देखिन्छ। विश्वका ठूला राष्ट्रका राष्ट्रप्रमुखहरूले मानवता, शान्ति र मानव अधिकारका विषयमा जतिसुकै आदर्शका कुरा गरे पनि व्यवहारमा आफ्नो राष्ट्रिय स्वार्थ पहिलो प्राथमिकतामा पर्ने गरेको देखिन्छ। कुनै देशको स्वार्थ पूरा गर्न अर्को देशका नागरिकले ठूलो मूल्य चुकाउनुपरे पनि त्यसप्रति त्यति संवेदनशीलता नदेखिने अवस्था विश्व राजनीतिमा देखिन्छ। यसले कतिपय अवस्थामा मानव जीवनको मूल्य र मर्यादामाथि नै प्रश्न उठाउँछ।
यही सन्दर्भमा चीनका राष्ट्रपतिलाई गरिएको स्वागतलाई लिएर नेपालका प्रधानमन्त्रीसँग तुलना गर्नुचाहिँ कति उचित हो भन्ने प्रश्न पनि उठ्छ। चीन आज आफ्नो आन्तरिक शक्ति र क्षमता विस्तार गर्दै विश्वको प्रमुख शक्तिका रूपमा स्थापित हुने दिशामा अघि बढिरहेको राष्ट्र हो। हाम्रो अवस्था भने त्यसको तुलनामा निकै फरक छ। भूगोल, भूराजनीति, उत्पादन क्षमता, अर्थतन्त्र, स्रोत–साधन र समग्र राष्ट्रिय सामर्थ्यका दृष्टिले नेपालका आफ्नै सीमितता छन्।
वास्तवमा कुनै पनि राष्ट्रको Foreign Policy (परराष्ट्र नीति) त्यतिबेला मात्र प्रभावकारी र बलियो बन्न सक्छ, जब त्यसको आन्तरिक शक्ति पनि बलियो हुन्छ। देशभित्रै राजनीतिक, आर्थिक, सामाजिक र संस्थागत अवस्था कमजोर छ भने अन्तर्राष्ट्रिय मञ्चमा जतिसुकै ठूला कुरा गरे पनि त्यसको प्रभाव र हैसियत त्यहीअनुसार सीमित हुन्छ। अन्तर्राष्ट्रिय सम्मान केवल भाषण र इच्छाले होइन, राष्ट्रको समग्र शक्ति र विश्वसनीयताले पनि निर्धारण गर्छ।
हाम्रा सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूको स्वागतको विषयमा पनि यही कुरा बुझ्न जरुरी छ। उहाँको यात्रा कुनै एउटा देशको औपचारिक राजकीय भ्रमण थिएन; संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन जाने कार्यक्रम थियो। त्यसैले कुनै राष्ट्रले आफ्नो देशमा औपचारिक भ्रमणमा बोलाएर गर्ने राजकीय स्वागत र महासभामा सहभागी हुन आएका राष्ट्रप्रमुख/सरकार प्रमुखलाई गरिने स्वागतलाई एउटै तराजुमा राखेर तुलना गर्नु उचित हुँदैन। यदि कुनै देशको औपचारिक द्विपक्षीय भ्रमण हुन्थ्यो भने त्यहाँको प्रोटोकलअनुसार भव्य स्वागतको अपेक्षा गर्नु स्वाभाविक हुन्थ्यो।
त्यसैले स्वागतको दृश्यलाई मात्र आधार बनाएर नेपालको प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय हैसियत वा यात्राको मूल्यांकन गर्नु भन्दा नेपालको वास्तविक अवस्था, हाम्रो राष्ट्रिय शक्ति र अन्तर्राष्ट्रिय सम्बन्धको प्रकृति बुझेर हेर्नु आवश्यक हुन्छ। प्रधानमन्त्रीज्यूको यात्रा समग्रमा राम्रो रह्यो होला र आगामी दिनमा पनि देशको हितमा फलदायी रहोस् भन्ने शुभकामना।
अन्त्यमा, सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले संयुक्त राष्ट्रसंघको महासभामा राख्नुभएको मन्तव्यलाई समग्रमा हेर्दा आलोचना गर्नुपर्ने विषयमा आलोचना गर्नुपर्छ, तर हरेक कुरालाई नकारात्मक दृष्टिले मात्र हेर्नु पनि उचित हुँदैन। उहाँको मन्तव्य समग्रमा अर्थपूर्ण नै छ।
मलाई व्यक्तिगत रूपमा उहाँको मन्तव्यको अन्तिम वाक्य निकै अर्थपूर्ण लाग्यो- “भगवान पशुपतिनाथले विश्वको कल्याण गरून्। यो विश्व बुद्धले देखाएको बाटोमा हिँड्न सकोस्। नमस्ते।”
विश्व मञ्चमा नेपाली भाषामै पशुपतिनाथ र बुद्धको सन्देशमार्फत शान्ति, कल्याण र मानवताको कुरा राख्नु आफैंमा एउटा सुन्दर र सराहनीय पक्ष हो।
आलोचना आफ्नो ठाउँमा छ, प्रशंसा आफ्नो ठाउँमा। तर अन्तर्राष्ट्रिय राजनीतिलाई केवल एउटा स्वागतको दृश्य वा सामाजिक सञ्जालको तुलना मात्रबाट बुझ्नु भन्दा त्यसको पछाडि रहेको राष्ट्रिय शक्ति, भू-राजनीति, अर्थतन्त्र र परराष्ट्र नीतिको वास्तविकता बुझेर हेर्नु अझ आवश्यक छ।