धनगढी ५ असोज/नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५औँ महाधिवेशनका लागि कैलालीमा संगठनात्मक तयारी तीव्र पारेको छ। समूहले तल्लो तहका अधिवेशनलाई व्यवस्थित बनाउन कैलालीका पाँचवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय संयोजक तोक्ने प्रक्रिया अघि बढाएको छ।
महाधिवेशनको तयारीस्वरूप सोमबार कैलाली क्षेत्र नम्बर १ मा भुवन अधिकारी र क्षेत्र नम्बर ३ मा रिता चौधरीलाई क्षेत्रीय संयोजकको जिम्मेवारी तोकिएको छ। बाँकी तीन निर्वाचन क्षेत्रमा मंगलबार संयोजक तोक्ने तयारी गरिएको जनाइएको छ। संस्थापन इतर समूहले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते गाउँ नगरपालिका अधिवेशन तथा असोज २३ गते प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन गर्ने तयारी छ।
कैलाली जिल्लामा अधिवेशनको वातावरण निर्माण तथा तयारीलाई थप प्रभावकारी बनाउन मंगलबार धनगढीमा संस्थापन इतर समूहको भेला आयोजना गरिएको छ। भेलाले जिल्लाको संगठनात्मक अवस्थाबारे छलफल गर्दै वडा, पालिका र निर्वाचन क्षेत्रस्तरमा संयोजक तोकी अधिवेशन तयारी अघि बढाउने विषयमा आवश्यक निर्देशन दिने बताइएको छ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नृपबहादुर वडका अनुसार अधिवेशनलाई व्यवस्थित र प्रभावकारी रूपमा सम्पन्न गर्न जिल्लाका सबै तहमा आवश्यक समन्वय र जिम्मेवारी बाँडफाँट गरिनेछ। सोमबारको तयारी बैठकमा केन्द्रीय सदस्यद्वय नृपबहादुर वड र रामजनम चौधरी, जिल्ला प्रतिनिधि देवराज जोशी, सुदूरपश्चिम प्रदेश कोषाध्यक्ष उत्तम कठायत, महासमिति सदस्य शेरबहादुर देउवा र नवराज रावल तथा महाधिवेशन प्रतिनिधि जीवन श्रेष्ठलगायत सहभागी थिए।
संस्थापन इतर समूहले प्रस्ताव गरेको कार्यतालिकाअनुसार कात्तिक १५ गते जिल्ला अधिवेशन, मंसिर ४ गते प्रदेश अधिवेशन तथा मंसिर २१ देखि २३ गतेसम्म काठमाडौंमा १५औँ केन्द्रीय महाधिवेशन गर्ने तयारी गरिएको छ।
यसैबीच नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र दुई समूहले छुट्टाछुट्टै कार्यतालिका अघि बढाइरहेका छन्। त्यसअनुसार अहिले दुवै पक्षले संगठनात्मक तथा अधिवेशनसम्बन्धी गतिविधि तीव्र बनाएका छन्।