धनगढी ५ असोज/नजिकिँदै गरेका दशैं, तिहार, छठलगायतका चाडपर्वलाई लक्षित गर्दै बजारमा हुने कालोबजारी, कृत्रिम अभाव, म्याद गुज्रिएका वस्तुको बिक्री तथा उपभोक्ता ठगी नियन्त्रणका लागि चाडपर्व लक्षित कैलालीमा बजार अनुगमन कार्ययोजना-२०८३ तयार गरिएको छ ।
कार्ययोजना अनुसार उपभोक्ता अधिकारलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन सरकारका तीनै तह, उपभोक्ता अधिकारकर्मी, सरोकारवाला निकाय तथा सञ्चार जगतको सहभागितामा बजार अनुगमन गरिने निर्णय भएको छ । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीको अध्यक्षतामा सोमबार चाडपर्व लक्षित बजार अनुगमन समिति गठन गरी कार्यतालिका बनाएको बाण्ज्यि आपूर्ति तथा गुण नियन्त्रण कार्यालय, कैलालीका प्रमुख तारामान रावलले जानकारी दिए ।
अनुगमनका क्रममा अत्यावश्यक वस्तुको आपूर्ति तथा सार्वजनिक यातायात, होटल-रेस्टुरेन्ट तथा खाजा घर, दैनिक उपभोग्य वस्तु तथा फेन्सी पसल, पशुजन्य तथा मासुजन्य पदार्थ, सुनचाँदी तथा आभूषण, फलफूल तथा तरकारीजन्य पदार्थ र जनस्वास्थ्य तथा औषधि क्षेत्रलाई प्राथमिकतामा राखिएको छ । अत्यावश्यक वस्तुको अनुगमनमा आपूर्तिको अवस्था, यातायात व्यवसायीको छलफल, पेट्रोल पम्पको शुद्धता तथा मिसावट र एलपी ग्यासको तौल जाँच गरिने कार्ययोजनामा उल्लेख छ। होटल तथा रेस्टुरेन्टमा दर्ता, कर, खाद्य स्वच्छता, सरसफाइ, उपभोक्ता ठगी तथा कालोबजारीसम्बन्धी विषय हेरिनेछ ।
त्यस्तै दैनिक उपभोग्य वस्तु तथा फेन्सी पसलमा मूल्यसूची, बिल-बिजक, म्याद र सरसफाइ जाँच गरिनेछ । मासु पसल तथा वधशालामा इजाजतपत्र, स्वच्छता, मूल्यसूची र मापदण्ड पालना भएरनभएको अनुगमन गरिनेछ ।
सुनचाँदी व्यवसायमा नापतौल, गहना निर्माणमा प्रयोग हुने रसायन, ज्यालादर तथा मूल्यसूची, फलफूल तथा तरकारीमा खाद्य स्वच्छता र विषादीको मात्रा तथा औषधि पसलमा दर्ता, अनुमति, म्याद, मूल्यसूची र मापदण्डको पालना जाँच गर्ने योजना छ ।
कार्ययोजनाले अनुगमनमा खटिएको टोलीले अनुगमनअघि सम्बन्धित संयोजकलाई जानकारी गराउने र अनुगमनपछि लिखित प्रतिवेदन बुझाउनुपर्ने व्यवस्था पनि गरेको छ । अधिकांश लक्षित क्षेत्रमा हप्तामा कम्तीमा एकपटक अनुगमन गर्ने कार्यतालिका राखिएको छ ।