धनगढी , ८ असोज/ नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन तयारीका लागि अछाम जिल्लाको जिल्ला संयोजकमा कृष्णबहादुर बुढा मनोनित भएका छन्।
नेपाली कांग्रेस १५औँ केन्द्रीय महाधिवेशन तयारी समितिका संयोजक प्रा. डा. शशांक कोइरालाले बुढालाई जिल्ला संयोजकको जिम्मेवारी तोकेका हुन्।
समितिले पठाएको पत्रमा पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित वैधानिक केन्द्रीय कार्यसमितिले १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने दायित्व रहेको उल्लेख गर्दै जिल्लाका साथीहरूको राय–सुझाव र केन्द्रीय प्रतिनिधिको सिफारिसका आधारमा बुढालाई अछामको जिल्ला संयोजक मनोनयन गरिएको जनाइएको छ।
महाधिवेशन तयारी समितिले सार्वजनिक गरेको कार्यतालिकाअनुसार असोज १५ गते वडा अधिवेशन, असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा निर्वाचन क्षेत्र तथा प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने निर्णय गरेको छ। १५औँ केन्द्रीय महाधिवेशन भने मंसिर २१, २२ र २३ गते काठमाडौंमा गर्ने तयारी छ।
बुढा अछाम कांग्रेसमा लामो समयदेखि सक्रिय रहँदै आएका नेता हुन्। उनी नेपाली कांग्रेस अछामको क्षेत्रीय सभापतिको जिम्मेवारी दुई कार्यकाल सम्हालिसकेका छन्।
बुढाले आफ्नो लामो राजनीतिक अनुभव प्रयोग गर्दै पार्टीभित्र सबैलाई समेटेर संगठनलाई एकताबद्ध बनाउने र आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई जिताउने अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने विश्वास गरिएको छ।