धनगढी,१ असोज / कैलालीको धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित बेहडाबाबा मन्दिर परिसरमा निर्माणाधीन १०८ गौमुखी धारा बजेट अभावमा निर्माण अलपत्र परेको छ। बजेट अभावका कारण दुई आर्थिक वर्षदेखि १०८ गौमुखी धारा अलपत्र परेको हो।करिब १ करोड ३५ लाख रुपैयाँ खर्च भइसकेको र आधाभन्दा बढी काम सम्पन्न भएको योजना बजेट नहुँदा रोकिएको हो।
नेपाली तथा भारतीय भक्तजनको आस्थाको केन्द्रका रूपमा रहेको बेहडाबाबा मन्दिरमा धार्मिक सुविधा थप गर्ने उद्देश्यले गौमुखी धारा निर्माणको योजना अघि बढाइएको थियो। प्रदेश सरकारले आर्थिक वर्ष २०७९/८० मा योजनाका लागि १ करोड रुपैयाँ विनियोजन गरेको थियो।सहरी विकास कार्यालयमार्फत निर्माण सुरु गरिएको योजनामा आर्थिक वर्ष २०८०/८१ मा थप ३५ लाख रुपैयाँ खर्च गरिएको थियो।
कुल २ करोड ८२ लाख रुपैयाँ लागत अनुमान गरिएको योजनामा हालसम्म करिब १ करोड ३५ लाख रुपैयाँ खर्च भइसकेको छ।आर्थिक वर्ष २०८१/८२ देखि प्रदेश सरकारले बजेट विनियोजन नगरेपछि निर्माण कार्य रोकिएको हो। बेहडाबाबा मन्दिर व्यवस्थापन सेवा समितिका अध्यक्ष खेमबहादुर चन्दले बजेट अभावकै कारण योजना अघि बढ्न नसकेको बताए।
उनका अनुसार धारा निर्माण सम्पन्न भए मन्दिरमा आउने भक्तजनलाई थप सुविधा पुग्नुका साथै धार्मिक पर्यटकका लागि नयाँ आकर्षण थपिनेछ। तर, योजना कहिले पुनः सञ्चालन हुने र कहिले सम्पन्न हुने भन्ने अझै अन्योलमा छ।