धनगढी ,३० भदौ / नेपाली कांग्रेस धनगढी उपमहानगरपालिका नगर कार्यसमितिले पार्टीको महाधिवेशन एकताका साथ एउटै समयमा गर्नुपर्नेमा जोड दिएको छ ।
भदौ २९ गते सोमबार नेपाली कांग्रेस कैलाली जिल्ला पार्टी कार्यालयमा बसेको नगर कार्यसमितिको बैठकले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै एकताको महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
नगर सभापति यज्ञराज उपाध्यायको अध्यक्षतामा बसेको बैठकमा नगर कार्यसमितिका पदाधिकारी, क्षेत्रीय प्रतिनिधि तथा वडा सभापतिहरूको सहभागिता रहेको थियो।
बैठकमा सहभागी अधिकांश वक्ताले कांग्रेसभित्र छुट्टाछुट्टै अधिवेशन गर्ने तयारी भइरहेकोप्रति असहमति जनाउँदै पार्टी एकता कायम गरी एउटै अधिवेशन गर्नुपर्ने धारणा राखेका हुन् ।
नगर कार्यसमितिका सचिव दिनेश खत्रीले पार्टीभित्र दुई समूहले छुट्टाछुट्टै अधिवेशनको मिति तय गरेकाले आफूहरू एउटै र एकताबद्ध अधिवेशनको पक्षमा रहेको बताएका छन् ।
नगर सभापति उपाध्यायले पनि धनगढी नगर कार्यसमिति एउटै एकताको अधिवेशनको पक्षमा रहेको स्पष्ट पारे । उनले दुईवटा अधिवेशनले पार्टीभित्र थप विभाजन निम्त्याउने भन्दै एउटै अधिवेशनबाट पार्टीको एकता र हित सुनिश्चित गर्नुपर्ने बताएका छन् । उनका अनुसार धनगढी उपमहानगरपालिका अन्तर्गतका वडा सभापतिहरूले समेत एकताको एउटै अधिवेशन हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनको तयारीसँगै संस्थापन र संस्थापनइतर समूहले छुट्टाछुट्टै अधिवेशन कार्यतालिका अघि सारेका छन् । संस्थापन पक्षले असोज ३ र ४ गते वडा अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ भने पूर्वसभापति शेरबहादुर देउवा पक्षले असोज १५ गते वडा अधिवेशन गर्ने कार्यतालिका तय गरेको छ ।
यही पृष्ठभूमिमा धनगढी नगर कार्यसमितिले भने विभाजित रूपमा नभई सहमति र एकताका आधारमा एउटै अधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको हो ।