धनगढी, ३० भदौ / धनगढीमा राष्ट्रिय तथा स्थानीय हास्यब्यग्य कलाकारको सहभागितामा आज ‘सुदूरपश्चिम गाईजात्रा-सिजन २’ हुँदैछ। बैजनाथ सञ्चार प्रालि धनगढीको आयोजनामा कार्यक्रम धनगढीस्थित एसटिएस सिनेमा हलमा मंगलबार साँझ ५ बजे सुरु हुन गैरहेको छ ।
कार्यक्रमका लागि राष्ट्रिय तथा स्थानीय कलाकार धनगढी पुगिसकेका छन्। राष्ट्रिय हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेल, शिवशंकर रिजाल ‘जोगेन्द्र पानवाला’, सुरेन्द्र केसी ‘मुलासाग’ लगायत स्थानीय कलाकारको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ। कार्यक्रमस्थल व्यवस्थापन, कलाकार तथा प्राविधिक तयारीसमेत पूरा भइसकेको आयोजकको भनाइ छ।
कार्यक्रममा हास्यव्यङ्ग्य, व्यङ्ग्य नाटक, कविता, गीत-संगीत, देउडा तथा मौलिक लोक–सांस्कृतिक प्रस्तुति रहनेछ। लागुऔषध दुव्र्यसन, भ्रष्टाचार, साइबर अपराध, महिला तथा घरेलु हिंसा, बालअधिकार, युवा पलायन र सामाजिक विभेदलगायत समसामयिक विषयलाई व्यङ्ग्यमार्फत प्रस्तुत गरिने सुदूरपश्चिम गाईजात्राकी संयोजक सरस्वती भट्टले बताइन् ।
करिब १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको कार्यक्रममा मायामेट्रो हस्पिटल मुख्य प्रायोजक र चैतन्य पाठशाला प्रायोजक छन्। विभिन्न स्थानीय तह, बेहडाबाबा मन्दिर व्यवस्थापन समिति तथा संघ-संस्था सहयोगी र प्रवद्र्धकका रूपमा जोडिएका छन्। टिकट बिक्रीबाट प्राप्त रकमको २५ प्रतिशत भोटेकोशी बाढीपहिरो प्रभावितका लागि राहत कोषमा जम्मा गरिने सुदूरपश्चिम गाईजात्राका आर्थिक संयोजक सुभेष पाठकले बताए ।
टिकट एसटिएस सिनेमा हल र बैजनाथ सञ्चार प्रालिमा उपलब्ध छन्।