धनगढी,३१ जेठ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशको प्रथम प्रदेश अधिवेशनका लागि युवा नेता विशाल भट्टले प्रदेश सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्। संगठनभित्र युवाको सक्रिय सहभागिता, पारदर्शी नेतृत्व र नीतिगत स्पष्टतालाई केन्द्रमा राख्दै उनले आफ्नो उम्मेदवारी सार्वजनिक गरेका हुन्।
सार्वजनिक गरिएको प्रचार सामग्रीमा भट्टले आफूलाई ‘जेनजी प्रतिनिधित्व’ गर्ने उम्मेदवारका रूपमा प्रस्तुत गरेका छन्। उनले पारदर्शिता र जवाफदेहितालाई संगठन सञ्चालनको आधार बनाउँदै विकास, समृद्धि र समान अवसरका पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
उम्मेदवारी घोषणासँगै उनले नीति, विधि र सिद्धान्तको पक्षमा दृढतापूर्वक उभिने, संगठनलाई थप सबल बनाउने तथा सक्षम नेतृत्व विकासमा योगदान पुर्याउने अठोट व्यक्त गरेका छन्। साथै, युवा शक्तिलाई संगठनको समृद्धिसँग जोड्ने, विचारमा स्पष्टता र कार्यमा प्रतिबद्धता कायम राख्ने तथा सदस्यहरूको आवाजलाई संगठनको मूल आधार बनाउने प्रतिबद्धता पनि जनाएका छन्।
भट्टले इमानदार नेतृत्व, प्रभावकारी कार्यसम्पादन र परिवर्तनलाई संस्थागत गर्ने लक्ष्यसहित आफू चुनावी प्रतिस्पर्धामा उत्रिएको बताएका छन्। सुदूरपश्चिमको विकास, युवाको नेतृत्व र परिवर्तनको आवाजलाई संगठनभित्र सशक्त रूपमा स्थापित गर्ने उनको भनाइ छ।
रास्वपाको प्रथम सुदूरपश्चिम प्रदेश अधिवेशन असार १ गते आयोजना हुँदैछ। अधिवेशनमार्फत नयाँ प्रदेश नेतृत्व चयन हुने भएकाले विभिन्न पदमा उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र बनेको छ। यसैबीच युवा पुस्ताको प्रतिनिधित्व गर्ने दाबीका साथ भट्टले अघि सारेका एजेन्डाले संगठनभित्र नयाँ पुस्ताको भूमिका र सहभागिताबारे थप चासो बढाएको छ।