धनगढी, ३० जेठ / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशमा बढ्दो गुटबन्दी, आन्तरिक विवाद र नेतृत्वबीचको असमझदारीप्रति चिन्ता व्यक्त गर्दै प्रदेश सभापतिलाई एकताको आह्वान गर्दै एक क्षेत्रीय उपसभापतिले खुलापत्र लेखेका छन्। रास्वपा कैलाली क्षेत्र नम्बर ५ का क्षेत्रीय उपसभापति सञ्जय अधिकारीले प्रदेश सभापतिलाई सम्बोधन गर्दै लेखेको खुला पत्रमा पार्टीको स्थापनाकालदेखि सुदूरपश्चिममा संगठन विस्तार, जनविश्वास निर्माण तथा प्रदेशमा १० जना सांसद निर्वाचित गराउन प्रदेश नेतृत्वले खेलेको भूमिकाको उच्च प्रशंसा गरेका छन्।
पत्रमा अधिकारीले आफू कुनै राजनीतिक दलमा आबद्ध नभएको अवस्थामा परिवर्तनको आशा र पार्टीको नीति, उद्देश्य तथा नेतृत्वको दृष्टिकोणबाट प्रभावित भएर रास्वपामा जोडिएको उल्लेख गरेका छन्। तर पछिल्लो समय पार्टीभित्र विभिन्न तहका नेताहरूबीच देखिएको आन्तरिक द्वन्द्व, गुटगत गतिविधि र एकअर्कालाई कमजोर बनाउने प्रवृत्तिले संगठनको भविष्यप्रति चिन्ता बढाएको उनको भनाइ छ।
उनले पार्टीभित्रको विवाद सार्वजनिक हुँदा आम नागरिक र शुभेच्छुकहरूमा समेत नकारात्मक सन्देश जाने गरेको उल्लेख गर्दै यसले पार्टीप्रतिको विश्वास कमजोर बनाउन सक्ने बताएका छन्। तल्लो तहमा रहेर निरन्तर खटिरहेका कार्यकर्ताहरूको मनोबलमा समेत यस्तो अवस्थाले असर पुर्याएको उनको जिकिर छ।
खुला पत्रमा आगामी सुदूरपश्चिम प्रदेश अधिवेशनलाई पार्टीको एकता, लोकतान्त्रिक संस्कार र संगठनात्मक परिपक्वताको महत्वपूर्ण परीक्षणका रूपमा व्याख्या गरिएको छ। अधिवेशनलाई गुटबन्दी, व्यक्तिगत स्वार्थ र आन्तरिक खिचातानीबाट मुक्त राख्नुपर्नेमा जोड दिँदै पुराना तथा नयाँ सबै कार्यकर्ताको योगदानको सम्मान हुने वातावरण निर्माण गर्न आग्रह गरिएको छ।
अधिकारीले अधिवेशनलाई “एकताको महाकुम्भ” का रूपमा सम्पन्न गर्न सके पार्टीप्रतिको जनविश्वास अझ मजबुत हुने विश्वास व्यक्त गरेका छन्। उनले रास्वपा पुराना राजनीतिक दलहरूजस्तो सीमित समूहको स्वार्थमा केन्द्रित नभई लोकतान्त्रिक अभ्यास र साझा सहभागिताको उदाहरण बन्नुपर्ने धारणा समेत राखेका छन्।
पत्रमा वर्तमान प्रदेश सभापतिले पुनः सभापति पदका लागि उम्मेदवारी दिने तयारी गरेकोप्रति खुशी व्यक्त गरिएको छ। संगठन निर्माण, विस्तार र पार्टीलाई स्थापित गराउन खेलेको भूमिकाको प्रशंसा गर्दै अधिकारीले आगामी अधिवेशनमा प्रदेश सभापतिको सफलताको शुभकामना दिएका छन्।
खुला पत्रमार्फत उनले पार्टीभित्र सद्भाव, विश्वास र एकता कायम राख्दै संगठनलाई थप सुदृढ बनाउन नेतृत्वले निर्णायक भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याएका छन्। साथै, समयमै आन्तरिक मतभेद व्यवस्थापन गर्न नसके त्यसको असर आगामी निर्वाचनमा समेत देखिन सक्ने चेतावनी दिएका छन्।