म तपाईंलाई अस्पतालमा देख्न चाहन्नँ । यहाँ डरलाग्दो अवस्था छ । घरबाट बाहिर ननिस्कनुहोस् । कोरोना महामारी रोक्न सकेका छैनौँ । अस्पतालमा मास्क छैन । बिरामीका लागि भ्यान्टिलेटर छैन । आईसीयू भरिएको छ । हामी थाकेका छौँ । अति आवश्यक नपर्दासम्म अस्पताल नआउनुहोस् । सेल्फ क्वारेन्टाइनमा बस्नुहोस् । म तपाईंलाई अस्पतालको बेडमा देख्न चाहन्नँ ।’
केही समयअघि अमेरिकाकाको क्विन्सस्थित अस्पतालका मेडिकल डा. फ्रेड मिलिग्रिमले ‘दि एट्लान्टिक’ मा यी वाक्य भनेका थिए । उनको त्यो थाकेको बोलीले प्रस्ट हुन्छ, शक्तिराष्ट्र अमेरिका यति बेला कति शिथिल भएको छ भनेर ।
अहिले विश्वभर कोरोना संक्रमितको संख्या ४५ लाख नाघेको छ भने मृत्यु हुनेको संख्या ३ लाख पुगेको छ । पछिल्लो तथ्यांक अनुसार नेपालमा संक्रमितको संख्या २ सय ६७ पुगेको छ । संक्रमितको संख्या उकालो लाग्दो छ । नेपालमा अहिलेसम्म संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ । उनीहरूमा कोरोना संक्रमण देखिए पनि कोभिड १९ रोगको लक्षण देखिएको छैन ।
यदि, चीन, युरोप अमेरिकामा जस्तै नेपालमा पनि कोभिड १९ फैलियो भने के होला रु शक्तिराष्ट्र अमेरिकाका डाक्टरसमेत थाकिसकेका छन् भने नेपालले नियन्त्रण गर्न सक्ला रु अहिलेसम्म नेपालमा कोरोना संक्रमितलाई अस्पतालमा ल्याएर उपचार गर्न सकिएको छ । तर, अन्य देशको जस्तै अवस्था आयो भने के गर्ने रु कसरी संक्रमितको उपचार गर्ने ?
‘अबको ६ हप्तामा हजारौँको संख्यामा कोरोना संक्रमित भेटिन्छन् । परीक्षण कम भएको छ । अझै बढाउनुपर्छ,’ एक जनस्वास्थ्य डाक्टरले भने, ‘यदि परीक्षण बढाउने हो भने संक्रमितको संख्या धेरै बढ्छ ।’
संक्रमतिको संख्या बढे कसरी व्यवस्थापन गर्ने रु सरकारी योजना के छ रु
स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार १ सय २७ कोभिड क्लिनिक छन् । त्यसमा १६ वटा प्राइभेट पनि छन् । पहिलो लेबलको अस्पतालमा १३ वटा, दोस्रो लेबलमा १२ वटा र तेस्रो लेबल ३ वटा गरी अस्पताललाई विभाजन गरिएको छ ।
३ लेबलमा उपचार
सामान्य भए पहिलो लेबलमा, जटिल भए दोस्रोमा, अक्सिजन र भेन्टिलेटरको प्रयोग गर्नुपरे तेस्रो लेबलमा उपचार हुन्छ ।
सबै अस्पतालमा गरेर २६ हजार ९ सय ३० वडा बेड छन्, जसमा आईसीयू बेड १५ सय ९५ वडा रहेका छन् । भेन्टिलेटर ८ सय ४० वटा छन् । आईसीयू सुविधा भएका अस्पतालको संख्या १ सय ९४ छ । आइसोलेसन बेड ३ हजार ७६ वटा छन् । कोरोनाको हब अस्पताल २५ वटा तोकिएको छ ।
यति पूर्वाधारले पुग्छ त ?
मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले अहिलेको अनुपातमा हेर्ने हो भने अस्पतालमा ल्याएर उपचार गर्न सकिने अवस्था रहेको बताए ।
‘अहिलेको संख्या हेर्ने हो भने गाह्रो पर्दैन,’ उनले भने, ‘यदि संख्या बढ्यो भने सबैलाई अस्पताल ल्याउनु पनि पर्दैन । सबैलाई अस्पताल राख्नुपर्छ भन्ने छैन । केसअनुसार छानेर अस्पतालमा राख्ने हो ।’
समुदायमा नफैलियोस् भनेर संक्रमितलाई अस्पतालमा
नेपालमा भेटिएका कोरोना संक्रमितमा लक्षण धेरै देखिएको छैन । यद्यपि उनीहरूलाई अस्पतालमा राखेर उपचार गरिएको छ । तर, बाहिरी देशमा सामान्य संक्रमितलाई घरमै राखेर उपचार गरिने गरेको छ । त्यसैले नेपालमा पनि त्यस्तै अवस्था आए घरमै राखेर उपचार गरिने सरकारको योजना छ ।
‘समुदायमा नसरोस् भनेर अहिले सबैलाई अस्पताल ल्याइएको हो,’ उनले भने, ‘अस्पताल प्याक भयो भने घरमा पनि राख्नुपर्ने हुन सक्छ ।’
क्वारेन्टाइनमा भेन्टिलेटर र आइसोलेसन
अहिले शंकास्पद र बाहिरबाट आएकालाई क्वारेन्टाइमा राखिएको छ । ‘भोलिका दिनमा संख्या बढे क्वारेन्टाइनमा पनि पोजिटिभ देखिएकालाई राख्न सकिन्छ,’ डा.अधिकारीले भने, ‘क्वारेन्टाइनमा बसेकालाई घरमा राख्न पनि सकिन्छ । क्वारेन्टाइनमा अक्सिजन र भेन्टिलेटर जोडेर उपचार गर्नुपर्ने हुन्छ ।’ आइसोलेसन पनि क्वारेन्टाइनमा बनाउन सकिने उनले बताए ।
सामान्यलाई घरमै उपचार
अस्पतालमा राख्न नसकिए सामान्य संक्रमितलाई घरमै राखेर उपचार गरिने योजना सरकारको छ । जो सिरियस छ, उसलाई मात्र अस्पतालमा राख्ने तयारी सरकारको छ ।
‘तत्काल ३ करोडको लागि अस्पताल बनाउन सकिँदैन,’ उनले भने, ‘अहिले केस हेर्दा जति छ, त्यसलाई पूरा गर्न सकिन्छ । तर, विश्वमा हेर्ने हो भने ८० प्रतिशत सामान्य छन् । २० प्रतिशतका लागि धेरै वाच गर्नुपर्ने हो । त्यसमा पनि १५ प्रतिशत मात्र जटिल देखिएका छन् । नेपालमा अहिलेसम्म त्यस्तो अवस्था सिर्जना भएको छैन ।’
संरचनाले नधान्ने
संक्रमितको संख्या बढे अहिलेको संरचनाले नधान्ने डाक्टरहरू बताउँछन् । ‘अहिले संक्रमितको संख्या न्यून छ,’ एक डाक्टरले भने, ‘अहिले नै तयारी नगर्ने हो भने भोलिका दिनमा गाह्रो हुन्छ । कतिपय प्रदेशमा त आईसीयू बेड, अक्सिजन, भेन्टिलेटरसमेत छैन । त्यस्तो ठाउँमा के गर्ने ?’