बाजुरा,२७ भदौ / बाजुरामा पछिल्लो समय कोदो उत्पादन बढ्दै गएको छ । कोदो खेती गर्न छाडेका किसान अहिले पुनः कोदो खेती गर्न थालेका छन् । बाजुराका नौवटै स्थानीय तहले किसानलाई कोदो खेतीप्रति उत्प्रेरित गर्दै आएपछि उत्पादनमा समेत वृद्धि भएको हो ।
कोदो खेतीबाट स्थानीयको जीविकोपार्जनमा सहजता हुने देखिएपछि पछिल्लो समय स्थानीय तहहरूले पनि किसानलाई कोदो खेतीप्रति उत्प्रेरित गर्दै आएका छन् ।
पहिले कोदोको मान्यता नभएपनि अहिले कोदो देशका विभिन्न बजारमा पुग्न थालेसँगै यहाँका किसान कोदो खेती गर्न थालेको बुढीगङ्गा नगरपालिकाका कृषक भोलाराम जोशीले बताए ।
अहिले कोदोको माग बढेकाले गाउँमै प्रतिकिलो ५० रुपियाँका दरले खरिद गर्ने गरेको जोशीले बताए ।
पहिला बाजुरामा कोदो बिक्री नहुने गरेको भए पनि अहिले कोदो खरिद गर्न ग्राहक गाउँघरमै आउन थालेपछि किसानहरू कोदो खेतीतर्फ आकर्षित भएको उनको भनाइ छ ।
जिल्लामा दुई लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर खेतीयोग्य रहेको छ । बाजुरामा पाँच हजार २६० हेक्टर जमिनमा कोदो खेती गरिन्छ । गत वर्ष जिल्लामा छ हजार २०० मेट्रिक टन कोदो उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
विगतको तुलनामा अहिले बाजुरामा कोदो उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्र, बाजुराका कार्यालय प्रमुख हरिश विष्टले बताए ।
कृषि ज्ञान केन्द्र, बाजुराका अनुसार आर्थिक वर्ष २०८१÷८२ मा जिल्लामा करिब पाँच हजार ३६० मेट्रिक टन कोदो उत्पादन भएको थियो । आर्थिक वर्ष २०८२÷८३ मा भने छ हजार २०० मेट्रिक टन कोदो उत्पादन भएको छ ।