धनगढी, ११ जेठ / धनगढी उपमहानगरपालिकाले बेहडाबाबा मन्दिरमा लाग्ने गंगादशहरा पर्वका अवसरमा जेठ १२ गते मंगलबार स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
उपमहानगरपालिकाले सोमबार सूचना जारी गर्दै प्रत्येक वर्ष जेष्ठ महिनाको शुक्लपक्ष दशमी तिथिमा मनाइने गंगादशहरा यस क्षेत्रकै ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पर्व भएकाले सार्वजनिक बिदा दिइएको जनाएको हो।
सूचनाअनुसार बेहडाबाबा मन्दिर मा नेपाल तथा भारतका हजारौं श्रद्धालु सहभागी भई पर्व मनाउने परम्परा रहेको छ। साथै उक्त क्षेत्रलाई प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यसमेत रहेको जनाइएको छ।
उपमहानगरपालिकाको २०८१ साउन ३१ गतेको निर्णयअनुसार हरेक वर्ष गंगादशहरा तिथिका दिन धनगढी उपमहानगरपालिका अन्तर्गतका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था तथा संघसंस्थाहरूमा स्थानीय सार्वजनिक बिदा दिइने व्यवस्था गरिएको छ।
यस वर्ष गंगादशहरा पर्व २०८३ जेठ १२ गते मंगलबार परेकोले उक्त दिन धनगढी उपमहानगरपालिका क्षेत्रभित्र स्थानीय सार्वजनिक बिदा रहने प्रमुख प्रशासकीय अधिकृत जनकराज भट्ट द्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।