सुदूरपश्चिमका गाउँदेखि शहरसम्म अहिले एउटा मौन संकट फैलिरहेको छ। कतै डिप्रेसनले युवालाई झुन्डिन बाध्य बनाइरहेको छ, कतै असुरक्षित सडकले परिवारको खुसी खोसिरहेको छ भने कतै लागूऔषधले भविष्य नै निलिरहेको छ।
प्रदेश प्रहरी कार्यालयको वैशाख महिनाको तथ्याङ्कले सुदूरपश्चिमको यही डरलाग्दो यथार्थ उजागर गरेको छ। केवल ३० दिनको अवधिमा ५८ जनाले आत्महत्या गरेका छन्। अर्थात्, हरेक दिन झण्डै दुई जनाले आफ्नै जीवन अन्त्य गरिरहेका छन्।
सबैभन्दा बढी २१ देखि ३० वर्ष उमेर समूहका युवा आत्महत्याको सूचीमा छन्। पढाइको दबाब, प्रेम सम्बन्धमा असफलता, आर्थिक तनाव र पारिवारिक समस्या युवाका लागि मानसिक बोझ बन्दै गएको प्रहरीको निष्कर्ष छ।
यता सडक पनि उत्तिकै असुरक्षित बन्दै गएका छन्। वैशाख महिनामा मात्रै १९३ सवारी दुर्घटना भए, जसमा १४ जनाले ज्यान गुमाए भने सयौँ घाइते भए। अधिकांश दुर्घटनाको कारण चालकको लापरवाही रहेको प्रहरी बताउँछ।
अर्कोतर्फ लागूऔषधको जालो झन् फैलिँदै गएको देखिन्छ। एक महिनामै १६६ जना लागूऔषधसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा अधिकांश युवा छन्। चरेसदेखि खैरो हिरोइनसम्म बरामद हुनु प्रदेशमा लागूऔषधको पहुँच गहिरिँदै गएको संकेत मानिएको छ।
सचेतना कार्यक्रम भइरहे पनि तथ्याङ्कले भने सुदूरपश्चिम सामाजिक, मानसिक र नैतिक संकटको चपेटामा पर्दै गएको स्पष्ट देखाएको छ।