धनगढी, २८ वैशाख / काठमाडौंबाट धनगढीतर्फ आइरहेको खप्तड यातायातको बस बर्दिया राष्ट्रिय निकुञ्जभित्र दुर्घटनामा परेको छ। ना ८ ख १९४९ नम्बरको उक्त बस कैलालीको चिसापानी पुल नजिकै, बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र अनियन्त्रित भई सडकमै पल्टिएको हो। दुर्घटनामा केही यात्रु घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।
घाइतेहरूको तत्काल उद्धार गरी नजिकैका अस्पतालमा उपचारका लागि पठाइएको छ। बस सडकमै पल्टिएकाले उक्त सडकखण्डमा आवतजावत पूर्ण रूपमा अवरुद्ध भएको छ।
प्रहरी र सम्बन्धित निकायको टोली घटनास्थलमा पुगेर उद्धार तथा सडक खुलाउने काम जारी राखेको जनाएको छ। अन्य विवरण आउन बाँकी रहेको छ।