धनगढी । सुदूरपश्चिम प्रदेशमा सडक सुरक्षा सुधारलाई प्रभावकारी बनाउने तथा प्रस्तावित सडक सुरक्षा विधेयकलाई अघि बढाउने उद्देश्यले धनगढीमा प्रदेशस्तरीय सडक सुरक्षा सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न भएको छ।
शुक्रबार आयोजित कार्यशालामा राजनीतिक नेतृत्व, सुरक्षा निकाय, सरकारी अधिकारी तथा विकास साझेदारहरूको सहभागिता रहेको थियो। राष्ट्रिय सडक सुरक्षा परिषद् र सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा एशियाली विकास बैंक (एडिबी) को सहयोग रहेको थियो।
कार्यशालामा राष्ट्रिय सडक सुरक्षा कार्ययोजना २०२१–२०३० को कार्यान्वयन तथा संघ, प्रदेश र स्थानीय तहबीच समन्वय सुदृढ गर्ने विषयमा केन्द्रित छलफल गरिएको थियो। कार्यक्रममा प्रदेशसभा सदस्य, नेपाल प्रहरीका प्रतिनिधि तथा अन्य सरोकारवालाहरू सहभागी भएका थिए।
प्रदेशमा पछिल्लो समय बढ्दो सडक दुर्घटनाको अवस्थालाई मध्यनजर गर्दै आयोजित कार्यक्रममा विगत पाँच आर्थिक वर्षमा सुदूरपश्चिममा २ हजार ८२६ वटा सवारी दुर्घटना भएको र ९ सय २३ जनाले ज्यान गुमाएको तथ्यांक प्रस्तुत गरिएको थियो। दुर्घटनाको उच्च संख्या कैलाली र कञ्चनपुर जिल्लामा रहेको जनाइएको छ।
सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव इन्जिनियर विष्णु भण्डारीले प्रभावकारी सडक सुरक्षा व्यवस्थापनका लागि सशक्त संस्थागत समन्वय आवश्यक रहेकोमा जोड दिए।
एडिबीका वरिष्ठ यातायात अधिकृत इन्जिनियर हेमन्त तिवारीले वर्तमान सडक सुरक्षा अवस्थाबारे प्रस्तुति दिँदै राष्ट्रिय सडक सुरक्षा पहलमा निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रमका प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेशसभा सार्वजनिक लेखा समितिका सभापति अक्कलबहादुर रावलले सडक सुरक्षामा सबै पक्षको भूमिका महत्वपूर्ण रहेको बताए। उनले सडक दुर्घटनाबाट बढ्दो मानवीय तथा आर्थिक क्षतिलाई रोक्न सडक सुरक्षालाई क्षेत्रगत विषयभन्दा माथि उठाएर सार्वजनिक नीतिको प्राथमिक मुद्दाका रूपमा लिनुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रमको अध्यक्षता गरेका भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव इन्जिनियर भीमार्जुन अधिकारीले प्रदेश तथा स्थानीय सरकारले सडक सुरक्षाप्रति देखाएको प्रतिबद्धताको प्रशंसा गर्दै राष्ट्रिय सडक सुरक्षा परिषद्को नेतृत्वमा यस क्षेत्रलाई प्राथमिकतामा राखिने बताए।
कार्यशालाका प्राविधिक सत्रहरू प्रमाणमा आधारित तथा व्यवहारिक पक्षमा केन्द्रित रहेकाले सहभागीबीच सहभागितामूलक छलफल भएको आयोजकले जनाएको छ। प्राविधिक सत्रहरू एडिबीको टोलीले इन्जिनियर हेमन्त तिवारीको नेतृत्वमा सञ्चालन गरेको थियो भने इन्जिनियर सरोजकुमार प्रधान, समीक्षा अधिकारी, निराज धौभडेल र शुभ खनालले सहजीकरण गरेका थिए।
