धनगढी , २२ वैशाख / धनगढीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले प्रदेश सभा सदस्यहरूसँग नीति, कार्यक्रम, बजेट तर्जुमा र कार्यान्वयन सम्बन्धी अन्तरक्रिया गरेको छ । उक्त कार्यक्रममा बोल्दै प्रदेश सभाका सभामुख भिम बहादुर भण्डारीले बजेट निर्माण प्रक्रियामा देखिएका कमजोरीहरू औँल्याउँदै तथ्यमा आधारित योजना निर्माणको आवश्यकता औंल्याए।
उनले अरूले गरेको अध्ययनमा भर पर्दा वास्तविक तथ्याङ्कबाट वञ्चित हुनुपरेको भन्दै अब प्रदेशले आफैले डाटा संकलन गर्नुपर्ने धारणा राखे। “वास्तविक डाटा संकलन गरौँ, अनुमानका भरमा मात्रै डाटा प्रस्तुत नगर्न कर्मचारीहरुलाई समेत सभामुख भण्डारीले निर्देशन दिए।
सभामुख भण्डारीले बजेट निर्माणमा सांसदहरूको भूमिका न्यून रहेको उल्लेख गर्दै अब यसलाई साझा जिम्मेवारीका रूपमा लिनुपर्ने बताए। उनले २५ लाखभन्दा साना योजनाहरू कार्यान्वयन नगर्ने स्पष्ट नीति लिन आग्रह गर्दै “आजै निर्णय गरौँ, पछि कसैलाई हुन्छ कसैलाई हुँदैन भन्ने अवस्था आउन दिनु हुँदैन,” भने।
उनले प्रदेश विकासमा असन्तुलन देखिएको भन्दै जिल्लागत बजेट वितरणमा समानता कायम गर्नुपर्ने बताए। “कुनै जिल्लामा ७० प्रतिशत र कतै ५ प्रतिशत पनि नपुग्ने अवस्था रहनु हुँदैन,” उनले भने, “यसले समान विकासको लक्ष्यलाई कमजोर बनाएको छ।”
सभामुख भण्डारीले राज्यका नीतिहरूमा निरन्तरता आवश्यक रहेको उल्लेख गर्दै आरोप-प्रत्यारोपभन्दा माथि उठेर नयाँ ढङ्गले सोच्नुपर्ने समय आएको बताए।
यस्तै कार्यक्रममा सहभागी सांसदहरूलाई बजेट निर्माणलाई साझा विषयका रूपमा लिएर जिम्मेवार ढंगले अघि बढ्न समेत सभामुख भण्डारीले आग्रह गरे।