धनगढी, १० वैशाख / प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तीनै तहका सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममै सीमित गर्ने निर्णय गरेपछि यसको विरोध सुरु भएको छ। उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै नेपाल पत्रकार महासंघ कैलाली शाखाले औपचारिक आपत्ति दर्ता गरेको छ।
महासंघले निर्णयलाई विभेदकारी र निजी सञ्चारमाध्यममाथि अन्यायपूर्ण कदमको रूपमा व्याख्या गर्दै प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको जनाएको छ। विज्ञापन वितरणमा एकाधिकार कायम गर्ने यस्तो नीति प्रेस स्वतन्त्रता र सञ्चार क्षेत्रको समग्र विकासका लागि बाधक हुने नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवाले बताए।
महासंघद्वारा जारी विज्ञप्तिमा निजी सञ्चारमाध्यमलाई पाखा लगाउने कुनै पनि निर्णय स्वीकार्य नहुने स्पष्ट पारिएको छ। साथै, सरकारलाई आफ्ना मागहरू यथाशीघ्र सम्बोधन गर्न आग्रह गरिएको छ।
मागहरू सम्बोधन नभए पत्रकार महासंघलाई थप आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिँदै महासंघले प्रधानमन्त्रीबाट सकारात्मक पहल हुने विश्वास व्यक्त गरेको छ।
जिल्ला प्रशासन कार्यालय कैलालीमा ज्ञापनपत्र बुझाउन नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष धर्मेन्द्र झा, नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष श्रवण देउवा लगायतका सञ्चारकर्मीको उपस्थिति रहेको थियो।