दिल्ली,२१ बैशाख । कोरोनाको कहरबाट आक्रान्त भारतमा रहेका नेपालीहरुका समस्यालाई वेवास्ता गर्ने दिल्लीस्थित नेपाली राजदूतावासलाई बन्द गरी त्यहाँ कार्यरत राजदूत लगायतका कर्मचारीलाई नेपाल फिर्ता लैजान भारतमा रहेका नेपालीहरुले नेपाल सरकारसंग आग्रह गरेका छन् ।
कोरोनाको रोकथाम र नियन्त्रणका लागि भारतले जारी गरेको तेस्रो चरणको लकडाउनसम्म पनि नेपालीका पीडा सम्बोधन गर्न कुनै पहल नगरेको र समस्यामा परेका नेपालीहरुलाई सहयोग नगरेको भन्दै दिल्ली दूतावासलाई काठमाण्डौं फिर्ता लैजान प्रवासमा रहेका नेपालीहरुले सरकासंग आग्रह गरेका हुन् ।
सुदूर पश्चिमेली नेपाली समाज भारतका कोषाध्यक्ष महादेव भट्टले भारतमा लकडाउनमा फसेका नेपालीहरुको राहत, उद्दार र सहयोगका लागि पटक पटक आग्रह गरेपनि दिल्लीस्थित नेपाली दूतावासले कुनै सुनुवाई नगरेको गुनासो गरे ।
हामीले पटक पटक दूतावास र राजदूतलाई फोन गर्यौ । एक पटक फोन उठ्यो । त्यसपछि कहिल्यै फोन उठेन, भट्टले भने, यो बिपत्तिमा प्रवासमा रहेका नेपालीहरुका लागि काम नलाग्ने दूतावास किन चाहियो ? सरकारले तत्काल दूतावास र कर्मचारीलाई नेपाल फिर्ता लैजानुपर्छ ।
तमिलनाडुमा रहेका सुदूर पश्चिमेली समाज भारतका सचिव हंसराज खड्काले नेपालीहरु खान नपाएर भोकभोकै मरिरहदा पनि नेपाल सरकार र दूतावासले वास्ता नगरेको गुनासो गरे ।
हामी नेपालीहरु आफू भोकै रहेर आफ्ना नेपाली दाजुभाईलाई सहयोग गरिरहेका छौ । चन्दा उठाएर राहत बाडिरहेका छौ, तर नेपाल सरकार र दूतावासलाई नेपालीहरुको कुनै पीडाले अहिलेसम्म छोएन, खड्काले भने, नेपालीहरुका पीडा नबुझ्ने दूतावास हामीलाई चाहिएन । सरकारले तत्काल राजदूत लगायतका कर्मचारीलाई फिर्ता लैजानुपर्छ । यदि उनीहरुसंग नेपाल जाने पैसा छैन भने हामी चन्दा उठाएर पैसा दिन तयार छौ ।
मुम्बईमा रहेका सुदूर पश्चिमेली नेपाली समाज भारतका महासचिव मोहनबीर साँउदले नेपालीहरु भारतमा लकडाउनका कारण भोकभौकै मरिरहदा दिल्लीस्थित नेपाली दूतावास भने रमिता हेरेर बसेको बताए ।
उनले नेपाली दूतावासको भारतमा काम नभएकोले उनीहरुलाई नेपाली जनताले तिरेको करबाट पारश्रमिक दिनु अन्यायपूर्ण हुने भएकोले सबैलाई फिर्ता लैजान सरकारसंग आग्रह गरे । राजस्थानमा रहेका सुदूर पश्चिमेली नेपाली समाज भारतका सदस्य ईन्द्र साउँदले प्रवासमा नेपालीहरुको सरकार नभएको गुनासो गरे । हाम्रा समस्या न सरकारले सुन्यो, न दूतावासले, साउँदले भने, हाम्रो त न सरकार छ । न दूतावास ।