नेपालको राजनीतिमा फेरि एकपटक नयाँ अध्याय सुरु भएको छ। जेन्जी आन्दोलनपछि के हुन्छ भन्ने विषयमा आम नागरिक अन्योलमा थिए । सडकमा उठेको असन्तोष, सामाजिक सञ्जालमा देखिएको आक्रोश र युवा पुस्ताको राजनीतिक चेतनाले मुलुकको राजनीतिलाई कुन दिशातर्फ लैजान्छ भन्ने प्रश्न सर्वत्र थियो । अहिले आएर त्यो अन्योल क्रमशः स्पष्ट बन्दै गएको छ । पुराना राजनीतिक दल र नयाँ भनिएका राजनीतिक शक्तिहरू एउटै चुनावी मैदानमा आमनेसामने हुने संकेतहरू देखिन थालेका छन् ।
राजनीतिक प्रतिस्पर्धाको स्वरूप अब केवल एमाले-कांग्रेसको परम्परागत घेराभित्र सीमित रहने छैन। बरु पुरानो राजनीतिक संरचना र नयाँ राजनीतिक सोचबीचको टकराव नै मुख्य विषय बन्ने देखिन्छ । यसले नेपाली राजनीतिलाई केवल दलगत प्रतिस्पर्धाबाट माथि उठाएर विचार, शैली र विश्वसनीयताको प्रतिस्पर्धामा रूपान्तरण गरिरहेको छ। यो परिवर्तन सहज छैन, तर अपरिहार्य भने अवश्य छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच भएको सात बुँदे सहमतिले यो राजनीतिक माहोललाई झनै स्पष्ट बनाइदिएको छ । यी दुई पात्र कुनै परम्परागत राजनीतिक पृष्ठभूमिबाट आएका होइनन्, तर जनभावनाबाट उदाएका पात्र हुन्। उनीहरूको सहमतिले एउटा सन्देश दिएको छ । नयाँ भनिएका राजनीतिक शक्तिहरू अब केवल आलोचक मात्र होइनन्, उनीहरू सत्ता र नीतिनिर्माणको केन्द्रमा पुग्ने रणनीतिमा छन् ।
“यदि यो प्रतिस्पर्धाले राजनीतिक संस्कार सुधार्छ, जवाफदेहिता बढाउँछ र सुशासनतर्फ मुलुकलाई अघि बढाउँछ भने त्यो नै साँचो अर्थमा नयाँ अध्याय हुनेछ। नत्र भने पात्र फेरिए पनि प्रवृत्ति उही रहने खतरा सधैँ रहन्छ।”
यस घटनाले पुराना राजनीतिक दलहरूलाई पनि आत्मसमीक्षाको अवस्थामा पुर्याएको छ । दशकौँदेखि सत्ता वरिपरि घुमिरहेका दलहरू अब नयाँ चुनौतीको सामना गरिरहेका छन् । जनताले अब भाषण होइन, परिणाम खोजिरहेका छन् । नाराभन्दा बढी नीति र व्यक्तित्वभन्दा बढी कार्यक्षमता हेर्ने अवस्था सिर्जना हुँदैछ । यही कारणले गर्दा पुराना दलहरू पनि नयाँहरूसँग सहकार्य वा प्रतिस्पर्धा दुवैको तयारीमा देखिन्छन् ।
राजनीति खेलमैदानको सीमाभन्दा धेरै ठूलो मैदानमा खेलिने खेल हो । यहाँ नियमभन्दा रणनीति बलियो हुन्छ, आदर्शभन्दा अंकगणित निर्णायक बन्छ । जितका लागि कहिलेकाहीँ सिद्धान्तसँग सम्झौता र कहिलेकाहीँ विरोधीसँग सहकार्य पनि गर्नुपर्छ । सम्भवतः यही राजनीतिक यथार्थका कारण नयाँ र पुराना दुवै शक्तिहरूले आ-आफ्ना विधिहरू प्रयोग गरिरहेका छन्।
तर यहाँ गम्भीर प्रश्न उब्जिन्छ; के नयाँ भनिएका शक्तिहरू पनि क्रमशः पुरानै प्रवृत्तिको निरन्तरता बन्ने हुन् त ? वा उनीहरूले साँच्चै फरक राजनीतिक संस्कार स्थापना गर्न सक्ने छन् ? जनताले अहिले यही प्रश्नको उत्तर खोजिरहेका छन् । किनकि परिवर्तनको नाममा पुरानै अभ्यास दोहोरिनु सबैभन्दा ठूलो राजनीतिक धोका हुन्छ।
आगामी चुनाव केवल सिट संख्याको लडाइँ मात्र हुने छैन। यो विश्वास र अविश्वासको जनमत संग्रह जस्तै हुनेछ । पुराना दलहरूले आफ्नो विगतको बोझ बोक्दै मैदानमा उत्रिनुपर्नेछ भने नयाँ दलहरूले आशाको भारी जिम्मेवारी बोकेर प्रतिस्पर्धा गर्नुपर्नेछ ।
अबको चुनावमा पुराना र नयाँ राजनीतिक पार्टीबीच प्रतिस्पर्धा हुने कुरा लगभग पक्का भइसकेको छ । तर त्यो प्रतिस्पर्धा लोकतन्त्रलाई बलियो बनाउने खालको होस् , जनताको आवाजलाई केन्द्रमा राख्ने खालको होस् भन्ने अपेक्षा आम नागरिकको छ । कसैले जित्ने वा हार्नेभन्दा पनि महत्वपूर्ण कुरा यो राजनीतिले जनताको जीवनमा कति परिवर्तन ल्याउन सक्छ भन्ने हो।