धनगढी , २ पुस / निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) धनगढीको आयोजनामा दोस्रो पालिका परिषद् भेला धनगढीमा सम्पन्न भएको छ। “सबै निजी तथा आवासीय विद्यालय एकताबद्ध बनौँ” भन्ने नारासहित सम्पन्न उक्त भेलामा धनगढी उपमहानगरपालिका क्षेत्रभित्र सञ्चालित निजी तथा आवासीय विद्यालयका सञ्चालक, प्रधानाध्यापक तथा प्रतिनिधिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रममा निजी विद्यालय क्षेत्रले वर्तमान अवस्थामा सामना गरिरहेका विविध चुनौती, शैक्षिक गुणस्तर अभिवृद्धि, विद्यालय व्यवस्थापन, शिक्षक–विद्यार्थी हित तथा संस्थागत एकता र सहकार्यका विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागीहरूले निजी विद्यालयले समाज र राष्ट्रको शैक्षिक विकासमा खेलेको भूमिकालाई अझ प्रभावकारी बनाउँदै विद्यार्थीकेन्द्रित र गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने आवश्यकता औँल्याए।
भेलामा प्याब्सन धनगढीका पदाधिकारीहरूले स्थानीय तहसँग सहकार्य गर्दै राज्यका शिक्षा सम्बन्धी नीति, नियम र मापदण्डको पूर्ण पालना गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। साथै, निजी तथा आवासीय विद्यालयहरूबीच आपसी समन्वय र एकता मजबुत बनाउँदै साझा समस्या र समाधानका एजेन्डामा एकताबद्ध भएर अघि बढ्ने प्याब्सन धनगढी नगरका सचिव लोकेन्द्र बिष्टले बताए ।
पालिका परिषद् भेलाबाट आगामी कार्ययोजना तय गर्नुका साथै संगठनलाई थप सुदृढ र सक्रिय बनाउने अपेक्षा गरिएको छ। यस भेलाले धनगढी क्षेत्रका निजी तथा आवासीय विद्यालयहरूबीच सहकार्य र एकताको भावना अझ मजबुत बनाउने विश्वास लिएको छ ।
प्याब्सन नगर सचिव लोकेन्द्र बिष्टले एक वर्षमा गरेको काम कारबाहीका बारेमा कार्यक्रममा विस्तृत रुपमा आफ्नो सचिव प्रतिवेदनमा उल्लेख गरेका थिए।
