धनगढी,२ चैत । बैतडीमा झन्डै १७ हजार राष्ट्रिय परिचयपत्र कार्यालयमा थन्किएको छ । सेवाग्राहीले लिन नआउँदा छपाइ भएर आएका १६ हजार ९०८ थान राष्ट्रिय परिचयपत्र कार्यालयमै रहेको जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी पवनकुमार शाहीले जानकारी दिनुभयो ।
एक वर्ष पहिले नै २० हजार परिचयपत्र जिल्लामा पुगेको भए पनि तीन हजार ९२ परिचयपत्र मात्र वितरण भएको उहाँले बताउनुभयो । राष्ट्रिय परिचयपत्र लिन आउँदा फाराम भर्दाजस्तै बायोमेट्रिक प्रणालीबाट रुजु गर्नुपर्ने र प्रणालीले सबै मिलेको जनाएपछि परिचयपत्र दिन मिल्ने सूचनाअधिकारी शाहीले बताउनुभयो ।
राष्ट्रिय परिचयपत्र छपाई भएसकेपछि जिल्ला प्रशासन कार्यालयमा पुगिसकेको जानकारी सम्बन्धित व्यक्तिको मोवाइलमा पुग्नेगर्छ, उहाँले भन्नुभयो, “कतिपय अवस्थामा त्यसबारेमा जानकारी नहुँदा परिचयपत्र लिन नआएका हुन सक्छन् ।”
अध्ययन तथा रोजगारीका लागि जिल्लाबाहिर भएकाले राष्ट्रिय परिचयपत्र लिन नआएको हुन सक्ने उहाँको भनाइ छ । भौगोलिक विकट्ता भएका कारणले पनि अत्यावश्यक भए मात्र राष्ट्रिय परिचयपत्र लिन आउनेगरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बैंक खाता खोल्ने लगायतका अत्यावश्यक काममा सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट अहिले पनि राष्ट्रिय परिचयपत्रका लागि विवरण संकलनको काम भइरहेको कम्प्युटर अपरेटर सुरेन्द्रदेव भट्टले बताउनुभयो ।
राष्ट्रिय परिचयपत्र लिनेभन्दा फाराम भर्नेको संख्या बढिरहेको कम्प्युटर अपरेटर भट्टले बताउनुभयो । दैनिक ९० देखि १०० जनासम्म राष्ट्रिय परिचयपत्रका लागि फाराम भर्न आउने गरेको उहाँले जानकारी दिनुभयो । छपाइ भएर जिल्लामा पुगेको परिचयपत्र लिनका लागि ८ र १० जनामात्र आउने गरेका कम्प्युटर अपरेटर भट्टले बताउनुभयो । बैतडीमा राष्ट्रिय परिचयपत्रका लागि १ लाख २२ हजार ९२० जनाको विवरण संकलन गरिएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।