धनगढी, २० फागुन / ” सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, संचालन र सेवा सम्बन्धि व्यवस्था गर्न बनेको विधेयक २०८१” विवादित बनेको छ। सुदूरपश्चिम प्रदेश विधायन तथा प्रदेश मामिला समिति द्वारा पास गरी प्रदेश सभामा प्रस्तुत गर्ने तयार रहेको विधेयकको विद्यार्थी नेतृत्व लगायत युवा विद्यार्थीहरूको समूहले विरोध प्रदर्शन गरेका छन्।
एकपटकका लागि स्वीकृत दरबन्दीमा अस्थायी वा करारको रूपमा नियुक्त भएकाहरुको छुट्टै आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा प्रदेश लोकसेवाले पदपूर्ति गर्ने व्यवस्थाको विरुद्ध युवा विद्यार्थीहरुले सुदूरपश्चिम प्रदेश सभा अगाडि शान्तिपूर्ण विरोध प्रदर्शन गरेको विद्यार्थीहरूले जानकारी दिए।
विधेयक ल्याएर सरकारले आफ्ना कार्यकर्ताहरूलाई सहज रुपमा भर्ना गर्ने रणनीति ल्याएको भन्दै युवाहरुले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन्। अहिले पढिरहेका युवाहरूसँगै करार कर्मचारीहरूले पनि प्रतिस्पर्धा गर्नुपर्ने , उक्त विधेयकले आम नागरिकहरू लाभान्वित नहुने भएकाले विधेयक नै खारेज गर्नुपर्ने माग प्रदर्शनमा संलग्न युवाहरूको छ।
यता आज नै सुदूरपश्चिम प्रदेश सरकारले विवादित विषयलाई संशोधन गरेर विधेयक ल्याइने समेत जानकारी दिएको छ। सबैको लागि विधेयक मार्फत सहजता कसरी प्रदान गर्न सकिन्छ त्यही अनुसार अगाडि बढ्ने निर्णयमा प्रदेश सरकार सकारात्मक देखिएको छ।