दार्चुला, १६ फागुन / दार्चुलामा पहिरो खस्दा खलङ्गा-गोकुलेश्वर सडकखण्डअवरुद्ध भएको छ । महाकाली नगरपालिका-५ किम्तडी ठण्याकाठामा लेदासहितको पहिरो खस्दा महाकाली लोकमार्ग अन्तर्गत खलङ्गा–गोकुलेश्वर सडकखण्ड अवरुद्ध भएको हो। हालैसालै र्निमाण सम्पन्न गरिएको उक्त सडक खण्डमा माथिबाट आएको पहिरोका कारण विहान ७ बजेबाट यातायात सेवा प्रभावित भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिए।
सडक अवरुद्ध हुँदा तराईबाट जिल्लाको सदरमुकाम आउँदै गरेका तथा जिल्लाबाट बाहिरिने सवारी साधन र यात्रुहरू बाटोमै अलपत्र परेका छन्। यातायात व्यवसायी तथा यात्रुहरूले सम्बन्धित निकायलाई पहिरो पन्छाएर यातायात पुनः सञ्चालन गराउने अनुरोध गरेका छन्। सरोकारवाला निकायले तत्काल पहिरो हटाई सडक सुचारु गर्न आवश्यक पहल गर्ने आशा गरिएको छ।