धनगढी, १२ फागुन। महाशिवरात्रि तथा २६५औँ नेपाली सेना दिवसको अवसरमा श्री सुदूरपश्चिम पृतनाद्वारा विभिन्न सैनिक प्रदर्शनी तथा “युनिटी रन–२०८१“ को आयोजना गरिएको छ। उक्त कार्यक्रमअन्तर्गत दौड प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रमहरू पनि भएका थिए ।
पुरुषतर्फ १० किलोमिटर दौड प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका अक्कलबहादुर पालले प्रथम स्थान हासिल गर्दै नगद रु १५ हजार, साइकल र मेडल प्राप्त गरेका थिए भने विकास बिकले दोस्रो स्थान हासिल गरी नगद रु १० हजार, प्रमाणपत्र तथा मेडल प्राप्त गरेका थिए । यस्तै युठ दिपेन्द्र नाथ तृतीय स्थानमा रहेर रु ५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गर्न सफल भएका थिए ।
महिलातर्फ देवी दल गणकी तुलसी रावत प्रथम भइ नगद रु १५ हजार, साइकल र मेडल जित्न सफल भइन्। शान्ता ओलीले द्वितीय स्थान प्राप्त गर्दै नगद रु १० हजार, मेडल र प्रमाणपत्र प्राप्त गरिन् भने रुद्रध्वज गणकी सिपाही रूपा श्रेष्ठ तृतीय स्थानमा रहेर रु ५ हजार नगदसहित प्रमाणपत्र प्राप्त गरिन्।
पाँच किलोमिटर दौड प्रतियोगितामा पुरुषतर्फ नवराज बानिया प्रथम भइ नगद रु १० हजार, साइकल र मेडल प्राप्त गर्न सफल भए। द्वितीय स्थानमा तेज साउद रहेर रु ८ हजार नगदसहित मेडल प्राप्त गरे भने लक्ष्मण महराले तृतीय स्थान हासिल गर्दै रु ५ हजार नगद तथा प्रमाणपत्र प्राप्त गरे।
महिलातर्फ पाँच किलोमिटर दौडमा पवित्रा सार्की प्रथम भइ नगद रु १० हजार, साइकल र मेडल प्राप्त गरिन्। दोस्रो स्थानमा रीति धामी रहँदै रु ८ हजार नगदसहित मेडल प्राप्त गरिन् भने गौतमी विष्ट तृतीय स्थानमा रहँदै रु ५ हजार नगद तथा प्रमाणपत्र प्राप्त गर्न सफल भइन्।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख नजिर मिया, मुख्यमन्त्री कमलबहादुर शाह, आन्तरिक मामिला तथा कानून मन्त्री हिरा सार्की, भूमि व्यवस्था तथा कृषिमन्त्री वीरबहादुर थापा, सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्का, आर्थिक मामिला राज्यमन्त्री प्रकाश बम लगायत मन्त्रीहरूको उपस्थिति रहेको थियो।