धनगढी,१० फागुन । नेपाल मगर संघले आफ्नो स्थापना दिवस धनगढीमा भव्यताका साथ मनाउने भएको छ । संघले आफ्नो ४३ औँ स्थापना दिवस यही फागुन १५ गते बिहीबार धनगढी उपमहानगरपालिका – ५ तारानगरको थारु देउथानमा मनाउने भएको हो । संघले शनिवार पत्रकार सम्मेलन मार्फत कार्यक्रमबारे जानकारी दिएको छ ।
नेपाल मगर संघ कैलालीका अध्यक्ष दलबहादुर घर्तीमगरले विविध कार्यक्रम सहित स्थापना दिवस मनाउने बताए । उनले फागुन १५ गते बिहान ११ बजे धनगढीको चौराहा र गुरही चौकबाट विविध मौलिक झाँकी सहित धनगढी परिक्रमा गर्ने बताए ।
साथै उनले दिउँसो १२ बजे कार्यक्रम स्थल तारानगरको थारु देउथानमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमल बहादुर शाहबाट कार्यक्रम उद्घाटन हुने जानकारी गराए ।
नेपाल मगर संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष कमलबहादुर पुन मगरले मगर समुदायको पहिचान र विभिन्न माग सहित यस वर्ष पनि स्थापना दिवस मनाउन गइरहेको बताए ।
उनले राज्यको हरेक निकायमा मगर समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वको ग्यारेन्टी, भाषिक समानता, सबै खाले विभेदको अन्त्यका लागि राज्यलाई दबाब दिने उद्देश्य सहित स्थापना दिवस मनाउने बताए ।
स्थापना दिवसको अवसरमा लिगलिगे दौड, नौमती बाजा, झाँक्री विधि, सारङ्गी हाता, मारुनी नाच, भूमे नाच, पैसरी नाच, सोरठ्ठी नाच, ख्याली नाच लगायतको सांस्कृतिक प्रस्तुति समेत रहने जनाएको छ ।